सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न


बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सकिएको छ ।
बैजनाथ गाउँपालिका–५ मा पर्ने छैटौँ गुरुवागाउँ शाखा नहर निर्माणपछि पानी छाडेर परीक्षण गरिएको छ । नहरमा पानी छाडिएपछि किसान हर्षित भएका छन् । रोपाइँको समयमा किसानले पम्पसेट लगाएर धमाधम पानी तानिरहेका छन् । अब यो नहरबाट प्रशाखा र उपशाखा निर्माण भएपछि किसानलाई अझ सहज हुने आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिए ।
उनका अनुसार कुल ११ किलोमिटर लामो यो नहरबाट सात हजार ८१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेर एक लाख जनसंख्या लाभान्वित हुने अनुमान छ । नहरमा पानी छाडिसकेपछि ११ किलोमिटर नहर क्षेत्रको अवलोकनसमेत गरिएको थियो । स्थानीयको माग र सहजताका लागि बस्ती क्षेत्रमा नहर छेउछाउमा तारजाली लगाइएको छभने कतिपय स्थानमा सिँढीसमेत बनाइएको छ ।
भैरव सुभानी जेभी काठमाडौंले तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी १८ चैत २०८० मा सम्झौता गरेकोमा सम्झौता अवधि अगावै काम सकिएको छ । निर्माणको काम १७ चैत २०८३ मा सम्पन्न गर्नुपर्ने मिति हो । ३७ करोड ८२ लाख ८४ हजार ७३५ रुपैयाँमा ठेक्का गरिएको आयोजनाका इन्जिनियर विनेश श्रेष्ठले बताए ।
उनका अनुसार गुरुवागाउँ शाखा नहरमा हालसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ । अब केही सामान्य ‘फिनिसिङ’को काम मात्र बाँकी छ । बाँकेको बैजनाथ र खजुरा गाउँपालिकामा खेतीयोग्य जमिनलाई सिँचाइ गर्ने लक्ष्यका साथ गुरुवागाउँ शाखा नहर निर्माण गरिएको हो ।
राप्ती सोनारी–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले बाँकेको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ ।
पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माणसम्पन्न भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक आचार्यले जानकारी दिए ।