निजामतती विधेयकमा भएको जालझेल र वदनियत छानबिनका लागि समिति गठन गर्न राप्रपाको माग


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको क्षेत्र नम्बर ३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनको सम्भावित उम्मेदवारहरुको सूची सिफारिस असार मसान्तसम्म केन्द्रीय कार्यालयमा पठाउन जिल्ला कार्य समितिलाई निर्देशन दिएको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकले उपनिर्वाचनको तयारीलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति गठन गरेको छ ।
परिचालन समितिमा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप उदय, सहायक महामन्त्री ताहिर अली, रुपन्देही जिल्लाबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समिति, केन्द्रीय कार्यसमितिका सदस्यहरु र आमन्त्रित सदस्यहरु सदस्य रहनेछन् ।
बैठकले अपेक्षाकृत रुपमा अधिवेशनहरु हुन नसक्दा विधानअनुसार यसैवर्ष गर्नुपर्ने महाधिवेशन प्रभावित बन्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै असोज मसान्तसम्म सबै जिल्ला, स्थानीय र प्रदेश तहको अधिवेशन सम्पन्न गर्ने वातावरण बनाउन केन्द्रीय निर्वाचन समितिलाई अनुरोध गरेको छ ।
साथै, आगामी आन्दोलन, पार्टी प्रवेश अभियान, सक्रिय सदस्यता वितरण अभियान र जिल्ला अधिवेशनलाई प्रभावकारी ढंगले अघि बढाउन सबै जिल्लामा केन्द्रीय पर्यवेक्षक खटाउने निर्णय बैठकले गरेको छ । राप्रपाले भ्रष्टाचार विरोधी गतिविधिलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । प्रारम्भमा भ्रष्टाचार र भ्रष्टाचारजन्य गतिविधि समेटेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सम्बद्ध निकायमा पार्टीले ज्ञापनपत्र पेश गर्नेछ ।
भिजिट भिसा प्रकरणबाट देशको साख, अध्यागमन प्रणालीको विश्वसनीयता र विमानस्थलको सुरक्षा संवेदनशीलतामा समेत प्रश्न उठेको बैठकले निष्कर्ष निकालेको छ ।
त्यस्तै निजामती सेवा विधेयकमा प्रस्तावित कुलिङ्ग अफ पिरियडलाई लागू नगर्न राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि भएको जालझेल र वदनियतका सम्बन्धमा पार्टीको गम्भीर ध्यानाकर्षण जनाएको छ ।
यस विषयमा संसदीय छानविन समिति बनाई दोषीलाई कारबाहीको दायरामा ल्याउन र आगामी दिनमा यस्ता कार्य दोहोरिन नदिन आवश्यक उपाय अवलम्बन गर्न राप्रपाले माग गरेको छ । बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भदौ दोश्रो साता काठमाडौंमा बस्ने निर्णय गरेको छ ।