जिल्ला अदालत हुम्लाद्वारा ८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट


सिमकोट (हुम्ला), २ साउन : जिल्ला अदालत हुम्लाले चालु आर्थिक वर्षमा ८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला अदाललतले सार्वजनिक गरेको विवरणमा आर्थिक वर्ष २०८१/८२ मा ६९ वटा मुद्दामध्ये ६० अर्थात् ८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको उल्लेख छ ।
जसमध्ये २०८१ मा विभिन्न प्रकृतिका ५० वटा मुद्दा दर्ता भएका थिए भने गत वर्षको जिम्मेवारी सरेर आएका नौ वटा मुद्दा रहेको जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद दाहालले जानकारी दिनुभयो । देवानीतर्फ २५ र फौजदारीतर्फ ३५ मुद्दा फर्छ्यौट भएका हुन् ।
अदालतले मेलमिलापमा राख्न मिल्ने आठ वटा मुद्दा पठाएकोमा छ वटा मेलमिलाप भएका छन् भने दुई वटा बाँकी रहेको जनाइएको छ । मेलमिलापबाट ७६ प्रतिशत मुद्दा सफल भएको उल्लेख छ । चार आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७८/७९ मा ७३.४५, आव २०७९/८० मा ५४.९४, आव २०८०/८१ मा ८२.५६ प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो ।