`

चिनियाँ लगानीमा सिन्धुलीमा भैंसीको मासु प्रशोधन गर्ने उद्योग स्थापना हुने

Nepal One HD १४ साउन २०८२ १५:२५
अर्थ समाचार

सिन्धुली । अबको दुई वर्षभित्र सिन्धुलीको मरिण गाउँपालिका–४ मा २० अर्ब रुपैयाँ चिनियाँ लगानीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना हुने भएको छ।

उद्योग विभागका सूचना अधिकारी पशुपतिबाबु पुरीका अनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनी ले राँगाभैंसीको मासु उत्पादन तथा बिक्री गर्ने उद्देश्यले उक्त उद्योग स्थापना गर्न लागेको हो। विभागले यही साउन ४ गते उद्योग स्थापना गर्ने स्वीकृति दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोमबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै, यो उद्योग आफूले चीन भ्रमणका क्रममा गरेको सम्झौताअनुसार स्थापना हुन लागेको बताएका छन्। उनले फेसबुकमार्फत उद्योगको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, “छेन्दु जियान फुड कम्पनीले मरिण–४, सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न २० अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ। उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन उत्पादन गर्नेछ।”

उद्योगले ५,१५६ जनालाई रोजगारी दिनेछ भने वार्षिक डेढ खर्ब रुपैयाँबराबरको मासु चीनतर्फ निर्यात गरिनेछ। कम्पनीले आगामी १० देखि २० महिनाभित्र निर्माण कार्य पूरा गरी दुई वर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।

सिन्धुलीमा उद्योग स्थापनाका लागि कम्पनीले १०० बिघा जग्गाको प्रस्ताव सरकारसँग गरेको छ, जसका लागि मन्त्रिपरिषदको निर्णय आवश्यक हुनेछ।

उत्पादन सुरु भएपछि कम्पनीले सुरुमा दैनिक ५०० वटा राँगाभैंसी खरिद गर्नेछ भने पछि दैनिक ५,००० वटासम्म खरिद बढाउनेछ। राँगाभैंसी नेपालका विभिन्न जिल्लाबाट खरिद गरिने भएकाले किसानहरूलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ।

उत्पादित मासुको मुख्य बजार चीन र नेपाल हुने भए पनि खपत चीनमै बढी हुने विभागले जनाएको छ। उत्पादन गरिएको मासु केरुङ नाका हुँदै चीन निर्यात गरिनेछ।

यस उद्योगलाई विभागले कृषि तथा वन पैदावारमा आधारित उद्योगको रूपमा वर्गीकृत गरेको छ। चिनियाँ कम्पनीले पहिलो १२ महिनामा ६ अर्ब, २७ महिनामा १० अर्ब र ३६ महिनाभित्र थप ४ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

स्ट्यान्डर्ड प्याकिङको अभावका कारण अहिलेसम्म नेपालबाट भैंसीको मासु ठूला परिमाणमा निर्यात हुन सकेको छैन। तर यो उद्योग स्थापना भएमा वैज्ञानिक र व्यवस्थित ढंगले मासु विदेश पठाउन सकिने उद्योग विभागको विश्वास छ।

सरकार र विभागले यस उद्योगलाई निर्यात तथा रोजगारी वृद्धिमा ‘गेम चेन्जर’ उद्योगको रूपमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *