`

विपद व्यवस्थापन प्राधिकरण र इस्ट–चाइना युनिभर्सिटीका प्रतिनिधिबीच विपद छलफल

Nepal One HD १९ साउन २०८२ १८:२९
प्रमुख खबर

काठमाडौँ, १९ साउनः राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्ट र छिमेकी राष्ट्र चीनको जियान्सी प्रान्तमा रहेको इस्ट–चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक हुई चेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज छलफल भएको छ ।

सिंहदरबारमा भएको छलफलमा उक्त विश्वविद्यालयको ‘स्कूल अफ जिओफिजिक्स एण्ड स्पेस एक्प्लोरेसन’सँग सम्बद्ध प्राध्यापक हुईले भौगर्भिक प्रकोपको अनुगमन, पहिचान, पूर्वसूचना प्रणाली र रोकथामका बारेमा विश्वविद्यालयले गरिरहेका काम र त्रिभुवन विश्वविद्यालयसँगको साझेदारीबारे जानकारी गराउनुभएको थियो ।

कार्यकारी प्रमुख भट्टले गत महिनाको रसुवा बाढी एवं विगत वर्षमा तिब्बत हुँदै नेपाल प्रवेश गर्ने नदीमा आएका आकस्मिक बाढीले पुर्याएको ठूलो क्षतिका विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले नेपाल र चीनबीच ‘रियल–टाइम डाटा’ को आदानप्रदानलगायत पूर्वसूचना प्रणाली अत्यावश्यक भइसकेको उल्लेख गर्दै सहकार्यका लागि प्राधिकरण तयार रहेको बताउनुभयो । चिनियाँ प्रतिनिधिमण्डल पनि उक्त विषयप्रति सकारात्मक रहेको प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *