`

पशुपतिमा शवको हड्डी र खरानी किनेको आरोपमा दुईजना पक्राउ

Nepal One HD २९ साउन २०८२ १६:२०
समाचार

काठमाडौं । पशुपतिको घाटमा जलाइरहेको शवको हड्डी निकालेर बेचबिखन गरेको घटनामा खरिद गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीका ४१ वर्षीय मिश्रीलाल यादव छन् ।

साउन २३ गते काभ्रेका राम शाहीको शवबाट हड्डी बिक्री गरेको आरोप लागेपछि प्रहरीले शव जलाउने काभ्रेकै गणेशप्रसाद ढकाल र विनायक मैनालीलाई पक्राउ गरेको थियो ।

ठाकुर नै हड्डी र खरानी खरिद गर्ने व्यक्ति रहेको एसपी बोहराले बताए। यादव भने सहयोगीको भूमिकामा देखिएका हुन्। पक्राउ परेका ठाकुरको साथबाट हड्डीको धुलो र खरानी बरामद गरिएको छ ।

पक्राउ परेका चारैजनाविरुद्ध गौशाला प्रहरीले अभद्र तथा अर्काको धार्मिक आस्थामा असर गर्न नहुने कसुरमा मुद्दा चलाएको छ ।

साउन २३ गते पौने ३ बजेतिर पशुपति घाट २ नम्बर चितामा बनेपा नगरपालिका-९ घर भई कोटेश्वर नरेफाँट बस्ने ६५ वर्षीय राम शाहीको शव जलाइरहेको अवस्थामा हड्डी निकालेको भन्ने घटना बाहिरिएको थियो।

पशुपति क्षेत्र विकास कोष आर्यघाट सेवा केन्द्रबाट खटिएका गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीले जल्दै गरेको शवबाट हड्डीसहित खरानी निकालेर बट्टामा राखेको आरोप लागेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *