बागमतीका नवनियुक्त ५ मन्त्रीले लिए शपथ


मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै नवनियुक्त ५ मन्त्रीले शपथ गरेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
बानियाँले २७ गते सदनबाट विश्वासको मत लिएका थिए । विश्वासको मत प्राप्त गर्नसाथ कांग्रेस केन्द्रीय नेतृत्वसँग सहकार्य र समन्वय गरी उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रभातकुमार तामाङ, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे, सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी, संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री उर्मिला केसीलाई प्रदेश प्रमुखले सपथ ग्रहण गराएका थिए ।
मुख्यमन्त्री बानियाँले आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी शिवराज अधिकारीलाई प्रदान गरेका छन् ।
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएर बानियाँ कांग्रेस नेतामा निर्वाचित भएसँगै मुख्यमन्त्री बनेका हुन् । उनले एमाले कोटाका ६ जना मन्त्री यसअघि नै नियुक्त गरी शपथ गराइसकेका छन् । बागमतीमा मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय रहेका छन् ।