उपसभामुख राना अमेरिकामा, रास्वपाका नेताहरू आन्तरिक छलफलमा


काठमाडौं । सत्तारुढ गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेका बेला उनी भने अमेरिकामा रहेको बुझिएको छ । उनको सचिवालयका अनुसार उनी गत साउन ३० गते अमेरिका गएकी हुन् । यही भदौ १३ गते स्वदेश फर्किने कार्यक्रम छ ।
राना अमेरिका रहेकै बेला नेपालमा उनलाई पदबाट हटाउने तयारी भएको छ । नेपाली कांग्रेस र नेकपा एमालेले रानालाई पदबाट हटाउनको लागि हस्ताक्षर संकलन सुरु गरेका छन् ।
उपसभामुखलाई हटाइने चर्चाले उनको मातृ पार्टी रास्वपा तरंगित भएको छ । पार्टीका शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् । औपचारिक बैठक भने अहिलेसम्म डाकिएको छैन । एक शीर्ष नेताले मिडियाबाट खबर थाहा पाएपछि आफूहरू पार्टी कार्यालयमा अनौपचारिक कुराकानी गरिरहेको बताए ।
कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो।
महान्यायाधिवक्ता रमेश बडालसहित उनीहरूले छलफल गरेका थिए। उक्त छलफलमा सामाजिक सञ्जाल नियमन गर्नेबारे सर्वोच्च अदालतको फैसलाको मात्र होइन उपसभामुखको हटाउनेबारे पनि छलफल भएको थियो। त्यही छलफलपछि मंगलबार नै त्यो प्रक्रिया अघि बढाउन दलहरु लागेका हुन्।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ। यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो। तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन।