`

कोशी राजमार्गको हुङ्गुङ खण्डमा पहिरो जाँदा तीन दिनदेखि आवागमन अवरुद्ध

Nepal One HD ७ भदौ २०८२ २०:३०
समाचार

खाँदबारी (सङ्खुवासभा), ७ भदौः कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ । खाँदबारीबाट किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिरोले पूर्ण रूपमा ठप्प बनेको हो ।

उत्तर-दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरसहित ढुङ्गा, माटो र झाँडी मिसिएको ठूलो पहिरो खसेको छ । “सडक निर्माणाधीन भएकाले पहिरो पन्छाउन उपकरण प्रयोग गर्न सक्ने अवस्था छैन । भिरालो भूभाग हुनुका साथै लगातारको वर्षाले पहिरो पन्छाउने काम चुनौतीपूर्ण भएको छ”, उहाँले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ । तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रु समस्यामा परेका छन् ।

गुरुङले वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो ठूलो र जोखिमपूर्ण भएकाले सडक कहिलेदेखि सञ्चालन हुने यकिन भन्न नसकिने बताउनुभयो । प्राविधिक टोलीले पहिरो पन्छाउने प्रयास जारी राखेका बताउँदै उहाँले तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना भने नदेखिएको जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *