पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन


बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ कटनोली चौतापामा गएको पहिरोले रेखा चन्द (एकल महिला) र गिरिश चन्दको दुईतले घर भत्किँदा ठूलो क्षति भएको छ ।
घरसँगै गाइबस्तु पुरिनुका साथै खाद्यान्न, लुगा–कपडा र घरायसी सामग्रीहरू समेत पूर्णरूपमा नष्ट भएका छन् ।
घटनामा गिरिश चन्दकी ९० वर्षीया आमा गोदावरी चन्द घाइते भएकी छन् । टाउकोमा चोट लागेका कारण हाल उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो विपद्मा १६ जना परिवारका सदस्य विस्थापित भएका छन् र हाल छिमेकीको घरमा आश्रय लिइरहेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी घटनास्थलमा पुगेर पीडित परिवारलाई सान्त्वना दिएका छन् । साथै उनले तत्काल उद्धार तथा राहत कार्यमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिए । मन्त्री भण्डारीले आफ्ना तर्फबाट खाद्यान्न लत्ता–कपडा लगायतका राहत सामग्री समेत हस्तान्तरण गरेको स्वकीय सचिव दशरथ मंगोलाले जानकारी दिए ।
मन्त्री भण्डारीले जिल्लामा हालै भएका अन्य विपद्जन्य घटनाको समेत स्थलगत अध्ययन गरी उद्धार तथा राहत कार्यमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिए ।