लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक सम्पन्न


लुम्बिनी, १७ भदौः लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा खाँडामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौबुँदे निर्णय गर्दै सहकार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्णयपत्रमा हस्ताक्षर गर्नुभएको हो । मुख्यमन्त्री आचार्यले निर्णय कार्यान्वयनका लागि दुवै प्रदेशका मुख्यमन्त्रीले सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै आएका बताउँदै अहिले केही निर्णय कार्यान्वयनका चरणमा रहेका जानकारी दिनुभयो ।
“संविधानले प्रदेशलाई प्रदान गरेका जुन अधिकार हुन्, त्यसलाई अहिले पनि सङ्घीय सरकारमार्फत प्रत्यायोजित हुन सकिरहेको अवस्था छैन । संविधानले दिएको अधिकारलाई पूर्णरूपमा कार्यान्वयन गराउन समन्वय र सहकार्य गरेर अघि बढ्ने छौँ”, उहाँले भन्नुभयो, “प्रदेशसँग जोडिएका क्षेत्रमा देखिएका पूर्वाधारको समस्या समाधान गर्न ध्यानाकर्षण गराउने काम भइरहेको छ ।”
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले प्रदेशका सीमा जोडिएका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेश सरकारबीचमा समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “दुवै प्रदेशलाई योग र ध्यानका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । यसमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “अन्तर प्रदेश सहकार्य र समन्वयले काम गर्ने शैली तथा अनुभवमा पुनर्ताजगी ल्याउने भएकाले यस प्रकारका अभ्यासलाई बढाउँदै लैजानुपर्नेछ ।”
बैठकमा संविधानको धारा २३२ र २३३ मा रहेको समन्वय र सहकार्यको मर्मलाई आधार बनाई दुवै प्रदेशले साझा हितका कार्यक्रम संयुक्त रूपमा अघि बढाउने सहमति गरिएको छ ।
निर्णयअनुसार गत माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न पहिलो बैठकमा गरिएका २१ बुँदाका प्रतिबद्धताको कार्यान्वयन समीक्षा गरी तीन महिनाभित्र कार्ययोजना तयार गर्ने, बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयलाई कार्यान्वयनमा जोड दिने र सङ्घीय सरकारसँग नियमित समन्वय गर्ने व्यवस्था मिलाइने मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले दामोदरकुण्ड–कृष्णागण्डकी ‘उत्तरबाहिनी’–लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, रुपान्तरणकारी कार्यक्रमलाई अन्तर प्रदेश साझेदारीमा अघि बढाउने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिको कार्ययोजना आगामी पुस मसान्तभित्र पेस गर्ने, कात्तिकमा उत्तरबाहिनी क्षेत्रमा हुने कात्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन दुवै प्रदेशले सहजीकरण गर्ने निर्णय भएको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो ।
बैठकले सिकाइ आदानप्रदानका लागि प्रमुख सचिवस्तरीय संयन्त्र गठन गर्ने, कानुनी तथा नीतिगत एकरुपता कायम गर्दै जाने र दुबै प्रदेशका तीर्थ तथा पर्यटकीयस्थललाई जोड्ने पदमार्गको विस्तृत आयोजना प्रतिवेदन संयुक्त रूपमा तयार गर्ने निर्णय पनि गरेको छ । बैठकमा दुवै प्रदेशका मन्त्री, प्रमुख सचिव तथा सरोकार भएका निकायका प्रतिनिधिलगायतको सहभागिता थियो ।
—