`

अस्पतालको मुल गेट अगाडि शव राखेर प्रदर्शन

Nepal One HD २० भदौ २०८२ १०:३५
प्रमुख खबर

सर्लाही । सर्लाही बरहथवामा चिकित्सकको लापरबाहीले एक दलित युवकको उपचारको क्रममा ज्यान गएपछि आफन्तले अस्पतालको मुल गेटमै शव राखेर प्रदर्शन गरेका छन् । बरहथवा नगरपालिका–७ दुधडेरी चौकका ३८ वर्षीय प्रमोद पासवानको पेटमा समस्या भएपछि उपचारका लागि बिहीबार बिहान स्थानीय हनुमन्त अस्पतालमा गएका थिए ।

पासवानको अचानक पेट दुखेर समस्या भएपछि परिवारले सरकारी अस्पताल बरहथवामा लगे । तर सरकारी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि आफन्तले नजिकै बरहथवामै रहेको हनुमन्त अस्पताल पुर्‍याए ।
बिहीबार बिहान करिब ७ बजे पासवानलाई हनुमन्त अस्पताल बरहथवामा भर्ना गरेर अस्पतालले उपचार सुरु गरियो । पासवानको स्वास्थ्य सुधारको साटो झन् थप समस्या देखा पर्न थालेपछि बेलुका करिब पाँच बजे अस्पतालले अन्यत्र लैजान रिफर गरे र पासवान परिवारलाई अस्पतालको बिल सात हजार तिर्न बिल थमायो ।

अत्यन्त विपन्न र दलित परिवारका युवक प्रमोद पासवान स्थानीय बजारमै पलदारीको काम गर्थे र उनको आर्थिक अवस्था अत्यन्त कमजोर थियो । अस्पतालको पैसा तिरेपछि मात्रै बिरामीलाई थप उपचारका लागि लैजान दिने अस्पताल प्रशासनले गेटमा खटिएका ड्युटी कर्मचारीलाई समेत फर्मान जारी भयो ।

पासवानको अवस्था झन् बल्झिँदै गयो । जेनतेन गरेर परिवारले एक जना चामल व्यापारीमार्फत अस्पतालको बिल तिर्ने जिम्मा लिएपछि बिहीबार साँझ सात बजे अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा अस्पतालबाट निस्केको करिब पाँच किलोमिटर नपुग्दै पासवानको ज्यान गएको उनका भाइ सुबोध पासवानले सुनाए ।

अस्पतालले पैसाको कारण देखाउँदै आफ्ना भाइ प्रमोदप्रति दानवीय व्यवहार देखाएको र जथाभावी उपचार गरेको कारण पीडित मृतक परिवारले भाइको शव अस्पताल अगाडि राखेर न्याय मागेको बताएका छन् । ‘पैसाको कारण देखाउँदै बिरामी भाइलाई हनुमन्त अस्पतालभित्र घेरेर पैसा नतिरुञ्जेल बिरामी लैजान नदिने अस्पताल प्रशासनले अडान लिएको कारण भाइको समुचित उपचार अभावमा जथबल गएको’ परिवारको आरोप छ ।

इलाका प्रहरी कार्यालय बरहथवाले अस्पताल प्रशासन र उपचारमा संलग्न डाक्टर खुशनन्दन पाण्डेयलाई नियन्त्रणमा राखेको बताएका छन् । इप्रका बरहथवाले पीडित र अस्पताल प्रशासन दुवै पक्षलाई समस्या समाधान गर्न छलफलमा जुटेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी निरन्जन भट्टराईले जानकारी दिए । हनुमन्त अस्पतालका चिकित्सक डाक्टर पाण्डेयले अत्यधिक मात्रामा रक्सी सेवन गरेको कारण उनको ज्यान गएको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *