`

इम्बोस्ड नम्बर जडान नगरे निर्माण कम्पनीलाई सित्तैमा तीन अर्ब तिनुपर्ने हुन्छ : मन्त्री दाहाल

Nepal One HD २० भदौ २०८२ १२:३५
अर्थ समाचार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातामन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य र विशेष समयमा उठेका सवालको जवाफ दिन समयको माग गर्दै उनले सवारीमा एम्बोस्ड नम्बरका लागि सम्झौता पहिला नै भइसकेको हुनाले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने भएको बताए ।

उनले भने, ‘सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्नका लागि तीन पटकसम्म सम्झौता भएको देखिन्छ, वर्तमान सरकारले सम्झौता गरेको होइन । जडान नगर्ने हो भने तीन अर्ब रूपैयाँ सित्तैमा निर्माण कम्पनीलाई दिनुपर्ने हुन्छ ।’ उनले पहिला नै सम्झौता गरिएको र कुनै चीज उत्पादन नगरिकन पैसा तिर्नुपर्ने भएकाले वर्तमान सरकारले इम्बोस्ड नम्बर राख्नुपर्ने आवश्यकता परेको बताए । उनले भाषा अंग्रेजीमा हुँदा कुनै पनि फरक नपर्ने समेत स्पष्ट पारे ।

मन्त्रालयले यस प्रक्रियालाई अघि बढाएको जानकारी दिँदै उनले व्यक्ति, निजी वा सरकारी सवारीसाधनका लागि अहिलेसम्म ६ लाख ३५ हजार पाँचसय ४५ छपाइ भइसकेको र ८७ हजार ९८९ इम्बोस्ड नम्बर जडान भइसकेको जानकारी दिए ।

‘नेपाल सरकारले डिजिटल नेपालको अवधारणालाई आत्मसात गर्दै सरकारका तर्फबाट प्रवाह हुने सेवाहरु राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, जग्गा दर्तालगायतका क्षेत्रमा गरेको अवस्था छ,’ उनले भने, ’सोअनुरुप यातायात क्षेत्रलाई पनि डिजिटल क्षेत्रमा लैजानुपर्ने जरुरी छ, सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि देशभरका सवारीसाधनको यकिन विवरण हुनेछ ।’

उनले सवारी इजाजतका बारेमा यकिन विवरण हुने, सवारीसाधन चोरी, राजस्व छलिका विषयमा रोक्न पनि सहज हुने र सवारीसाधनमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशिका समेत जारी भएको जानकारी गराए । मन्त्री दाहालले सवारीसाधनको पहिचानका लागि संकेत नम्बर प्रविधिको कारण अंग्रेजी भाषामा राख्नुपर्ने हुँदा अन्तरदेशीयरुपमा आवतजावतमा सहयोग पुग्ने बताए । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *