`

साझा अधिकार कार्यान्वयनमा स्पष्ट नीति आवश्यक : मन्त्री न्यौपाने

Nepal One HD २० भदौ २०८२ १७:५३
राजनीति

काठमाडौँ, २० भदौ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले संविधानले केन्द्र, प्रदेश र स्थानीय तहलाई दिएको साझा अधिकार कार्यान्वयनमा स्पष्ट नीति आवश्यक रहेको बताउनुभएको छ ।

आज काठमाडौँमा आयोजित ‘गाउँगाउँमा सिंहदरबार’ नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साझा अधिकार कार्यान्वयनका क्रममा स्पष्ट कानुन नहुँदा समस्या देखिएको बताउनुभयो ।

मन्त्री न्यौपानेले सङ्घीयता कार्यान्वयनको चरणमा देखिएका चुनौतीहरू समाधानका लागि अझै स्थानीय सरकारलाई थप शक्तिशाली र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

“हामीले सङ्घर्ष गरेर तीन तहको सरकार ल्याउन सकेका छौँ । जनताले नजिकबाट सेवा प्रवाह लिन सकिने भनेको स्थानीय सरकारबाटै हो । संविधानले स्थानीय तहलाई धेरै अधिकार दिएको छ । केही एकल र केही साझा अधिकार दिएको छ । तर साझा अधिकार कार्यान्वयनको सन्दर्भमा अस्पष्ट छ । त्यसलाई कानुन बनाएर स्पष्ट बनाउनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो, “स्थानीय तहलाई संविधानले जे अधिकार दिएको छ, स्थानीय सरकार सञ्चालन ऐनले पनि धेरै अधिकार दिएको छ । अब अधिकारलाई थप बलियो बनाउन जरुरी छ ।”

गाउँगाउँमा सिंहदरबार पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो बनाउन सहयोग गर्ने र यसलाई सशक्त बनाउन सबै जनप्रतिनिधिले ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *