`

मोहना नदीमा झोलुङ्गे पुल बन्यो,ओहोरदोहोर गर्न सहज

Nepal One HD २२ भदौ २०८२ १९:४४
अर्थ समाचार

कैलाली, २२ भदौः धनगढी उपमहानगरपालिका–१३ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट सिमानामा रहेको मोहना नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । उक्त झोलुङ्गे पुल बनेसँगै मोहना नदी ओहोरदोहोर गर्न सहज भएको छ ।

दुवै ठाउँलाई मोहना नदीले छुट्याएको छ । पुल निर्माण हुनुभन्दा अघि लामो समयसम्म राजघाटका स्थानीयलाई नदी ओहोरदोहोर गर्न समस्या थियो । राजघाटवासीका लागि दूरीको हिसाबले आफ्नो जिल्लाको सदरमुकामभन्दा सँगै जोडिएको कैलालीको धनगढी बजार नजिक पर्दछ । उनीहरुले अधिकांश कामका लागि धनगढी नै धाउनुपर्ने हुन्छ । त्यसैले मोहना नदीमा झोलुङ्गे पुल अति आवश्यक बनेको थियो ।

झोलुङ्गे पुल निर्माणसँगै ओहोरदोहोर गर्न सहज भएको कृष्णपुर नगरपालिका–९ राजघाटकी पूर्ववडासदस्य एवं स्थानीय शारदादेवी चौधरीले राससलाई जानकारी दिनुभयो । “औषधि उपचारदेखि हरेक कामका लागि धनगढी जानुपर्ने हुन्छ, पुल बन्नुभन्दा पहिले वडा नं ८ मजगई भएर लामो दूरीको कष्टपूर्ण बाटोबाट धनगढी जाने गरेका थियौँ”, उहाँले भन्नुभयो ।

पुल निर्माणपछि घरायसी सामान किनमेलदेखि सबै कामका लागि सहज भएको स्थानीय पदम विकले बताउनुभयो । स्थानीय रेखा चौधरी वर्खामा नदीका कारण गाउँलेले समस्या झेल्दै आएका बताउनुहुन्छ ।

झोलुङ्गे पुल निर्माण गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा रु ८० लाख ९० हजार ठेक्का लगाएको इञ्जिनियर विष्णु जोशीले बताउनुभयो । उपभोक्ता समिति र निर्माण कम्पनीको साझेदारीमा उक्त पुल निर्माण भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *