`

राज्य व्यवस्था समितिको बैठक बीचैमा स्थगित

Nepal One HD २३ भदौ २०८२ १४:२८
राजनीति

काठमाडौँ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक ‘जेनजी’ पुस्ताको प्रदर्शनका कारण बीचैमा स्थगित भएको छ । बैठकमा सहभागी गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी प्रदर्शनपछि विकसित घटनाक्रमका बारेमा छलफल गर्न निस्किएपछि बैठक स्थगित भएको हो ।

बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल भइरहेको थियो । गृहमन्त्री, रक्षामन्त्री र गृहसचिव बैठकबाट बाहिरिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले सरकारको प्रतिनिधिको उपस्थितिबिना विधेयकमाथिको छलफल अघि बढाउन उपयुक्त नहुने भन्दै बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

समिति सभापति ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री केही समयका लागि अनुमति लिएर बाहिरिनुभएको जानकारी दिँदै बैठकलाई निरन्तता दिने प्रस्ताव गरेका छन् । छलफलमा सहभागी सांसद रामहरि खतिवडा, ज्ञानेन्द्र शाहीलगायतले गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक उपस्थित नभएका बेला प्रहरीसम्बन्धी विधेयक अघि बढाउन उपयुक्त नहुने विचार व्यक्त गरेका छन् ।

अधिकांश सांसदले बैठक स्थगित गर्न प्रस्ताव गरेसँगै सभापति न्यौपानेले आजको बैठक स्थगित भएको घोषणा गरे । त्यसअघि बैठकमा सांसदहरू मैना कार्की, प्रतिमा गौतम, अशोककुमार चौधरीलगायतले संशोधन प्रस्तावमाथि आ–आफ्नो धारणा राखेका थिए। सो विधेयकमा ५२ वटा संशोधन प्रस्तावमा विभिन्न ६४८ वटा विषयमा संशोधन दर्ता भएको छ । विधेयकको प्रस्तावनामा नै २२ वटा संशोधन परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *