मीनभवनको यातायात कार्यालय छेउमा आगजनी


काठमाडौं । मीनभवनस्थित यातायात कार्यालय छेउमा आगलागी भएको छ । केहीबेरदेखि यहाँ आगजनी भइरहेको हो । जेनजीहरूको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ । सरकारले कफ्र्यू लगाए पनि अहिलेसम्म प्रदर्शन रोकिएको छैन । यसैबीच जेनजी प्रदर्शनका क्रममा अर्का एक जनालाई पनि गोली लागेको छ । नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन । उनको अवस्था गम्भीर छ ।
जेनजीले गरेको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर चार पत्रकार घाइते भएका छन् । प्रहरीले चलाएको रबरको गोली लागेर नेपाल वान एचडीका नरेश खतिवडासहित चार जना घाइते भएका हुन् । उनीहरु समाचारका लागि फोटो, भिडियो खिच्ने क्रममा प्रहरीको गोली लागेर घाइते भएका हुन् ।
नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनमा समाचार संकलनका लागि पुगेका पत्रकार खतिवडालाई प्रहरीले चलाएको रबरको गोली दाहिने हातको पाखुरामा लागेको हो । यस्तै प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् । नयाँ पत्रिकामा कार्यरत ढुंगाना र नेपाल प्रेसमा कार्यरत कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो । नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले लागेको गोली लागेर घाइते भएका हुन् । उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।
यस्तै आन्दोलनको समाचार संकलनका क्रममा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ । बानेश्वरमा भइरहेको प्रदर्शनको भिडियो खिचिरहेका बेला प्रहरीले चलाएको गोली पत्रकार श्रेष्ठलाई लागेको हो । उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । प्रशासनले दिउँसो साढे १२ बजेबाट कफ्र्यू आदेश जारी गरेको थियो । यद्यपि अहिले पनि प्रदर्शन रोकिएको छैन ।