`

राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक

Nepal One HD २३ भदौ २०८२ १६:१६
समाचार

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले आम युवाको समग्र पक्षलाई सम्बोधन गर्ने गरी राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक गरेको छ ।

मन्त्रालयद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साललगायले युवा नीति सार्वजनिक गरेका छन् । खेलकुदमन्त्री चाधरीले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा मानिएको र सम्रग युवाको शिक्षा, स्वास्थ्य, रोजगारलगायतको विषय यस युवा नीतिमा समावेश गरिएको बताए ।

त्यस्तै मन्त्रालयका सचिव लम्सालले सात प्रदेश र विज्ञहरुसहित करिब एक हजारभन्दा बढी व्यक्तिको छलफलबाट उक्त नीति तयार गरिएको बताए । उनले एआईलगायतका विभिन्न प्रविधि भित्रिएसँगै यसलाई सम्बोधन गर्न पनि नीति ल्याएको बताए।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्तालाई पनि समेट्ने किसिमको युवा नीति आएको बताए । यस युवा नीतिमा युवाको सर्वाङ्गीण विकास गर्ने, राज्यको विकासमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, राष्ट्रभाव भएका सदाचारी एवम् सुसंस्कृत युवा तयार गरी समुन्नत राष्ट्र निर्माणमा योगदान गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी, गुणस्तरीय शिक्षामा युवाको पहँुच बढाउने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धी दक्ष युवा जनशक्ति तयार गर्न रोजगारमूलक शिक्षामा युवाको सहभागिता वृद्धि गर्नेलगायत शिक्षासँग सम्बन्धित नौवटा कार्यनीति ल्याएको छ । त्यस्तै, घातक रोग, एचआइभी सङ्क्रमण, लागूऔषध दुव्र्यसन तथा कुलतमा परेका युवाका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेलगायत स्वास्थ्य क्षेत्रमा आठवटा नीति ल्याएको छ ।

‘डिजिटल’ समावेशीकरणको सिद्धान्तअनुरुप सूचना प्रविधिको प्रयोगमा सबै युवाको सहभागिता सुनिश्चित गर्दै सूचना प्रविधिको क्षेत्रलाई रोजगारीको मुख्य केन्द्रका रुपमा विकास गर्ने, खेलकुद क्षेत्रमा युवाको सहभागितालगायत विषय युवा नीतिमा समावेश गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *