इटहरी र रुपन्देहीमा पनि कर्फ्यू


विराटनगर । जेनजीको आन्दोलन हिंसात्मक बनेपछि इटहरी र रुपन्देहीमा पनि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाएका हुन् ।
जेनजीका युवाहरूले उपमहानगर कार्यालयमा आगो लगाएर प्रदर्शन गरिरहेका छन् । यस्तै जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै रुपन्देही जिल्ला प्रशासन कार्यालयले बुटवल–भैरहवा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न आज दिउँसो ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, प्रमुख जिल्ला अधिकारी (सीडीओ) टोकराज पाण्डेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क ले दिएको अधिकार प्रयोग गरी यो कदम चालेका हुन् । प्रशासनले जारी गरेको सूचनाअनुसार, कर्फ्यूको समयमा तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ । यो आदेश तत्काल लागू हुनेगरी जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले स्थानीय शान्ति सुरक्षा तथा सार्वजनिक हितका लागि यो आदेश जारी गर्नुपरेको बताएका छन् । पछिल्लो समयमा बढ्दो असहज परिस्थितिलाई मध्यनजर गर्दै यो निर्णय गरिएको हो । नागरिकहरूलाई तोकिएको समयभित्र घर बाहिर ननिस्कन र प्रशासनको आदेशको पालना गर्न आग्रह गरिएको छ । कर्फ्यूको पालना नगर्ने व्यक्तिलाई कानुन अनुसार कारबाही हुने पनि प्रशासनले जनाएको छ ।