`

कोरलानाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाइने

Nepal One HD २३ भदौ २०८२ १८:३६
अर्थ समाचार

मुस्ताङ, २३ भदौ: चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरलानाकाबाट चिनियाँ स्याउ ल्याउन नपाइने भएको छ । आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँको कोरला नाकाबाट चिनियाँ स्याउ आयात गर्न नपाइने सहमति भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो ।

आज उपल्लो मुस्ताङको लोमान्थाङमा बसेको सरोकार भएकाहरूको बैठकले चिनियाँ स्याउ भित्र्याउन नपाइने प्रारम्भिक चरणको मौखिक सहमति गरेको उहाँले बताउनुभयो । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट (राजु), वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिनजिन नामगेल गुरुङ, इलाका प्रशासन कार्यालय लोमान्थाङ, सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बिओपी) र व्यापारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

स्याउ आयात हुँदा स्थानीय स्याउ उत्पादक किसानलाई मर्का पर्ने भन्दै यस्तो सहमति भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

यसैगरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष गुरुङले हाल स्याउ आयातका विषयमा प्रारम्भिक छलफल गरेर मौखिक सहमति भएको चाँडै लिखित निर्णय गरिने बताउनुभयो ।

यसअघि सामान्य रूपमा उपल्लो मुस्ताङका लागि मात्रै खुला भएको कोरलानाका आइतबार पूर्ण रूपमा सञ्चालनमा आएको छ । यो नाका विसं २०८० कात्तिक २७ गते उपल्लो मुस्ताङका नागरिकका लागि खुला गरिएको थियो ।

यसअघि स्थानीय व्यापारीले सानो परिमाणमा सामान आयात गर्ने गरेकामा अब भने भन्सार विभागको नियममा रहेर चाहेजति सामान नेपाल ल्याउने व्यवस्था मिलाइएको भन्सार कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । भन्सार कार्यालयमा आवश्यक पूर्वाधार सबै तयारी अवस्थामा राखिएकाले मालवस्तु आयात निर्यातमा कुनै समस्या नपर्ने उहाँले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *