`

अनुदानमा घुम्तीगोठ निर्माण

Nepal One HD २४ भदौ २०८२ १०:३०
समाचार

म्याग्दी । धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा पशुधनको सुरक्षा तथा गोठालाको सहजताका लागि तीनवटा घुम्ती गोठ निर्माण भएका छन् । धवलागिरि–५ मल्कवाङको म्यादुङमा, अन्नूर्ण गाउँपालिकाका खोपारा र बयलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुदान सहयोगमा घुम्तीगोठ निर्माण भएको हो । हिउँदयाममा जाडो हुने भएकाले बेँसीमा झारिने गाईभैँसी, याकचौँरी तथा भेडाबाख्रा गर्मीयाममा उच्च लेकका घुम्ती चरन क्षेत्रमा लगेर पालन गरिन्छ ।

म्यादुङमा धवलागिरि गाउँपालिकाको रु आठ लाख अनुदान र किसानको रु दुई लाख बढी लगानीमा पाँच सय भेडाबाख्रा राख्न मिल्ने घुम्तीगोठ निर्माण भएको छ । मल्कवाङका भेडापालक किसान देवान छन्त्यालले घुम्तीगोठ निर्माण भएपछि हिउँदयाममा बेँसी झरेका भेडाबाख्रालाई झरी र हिउँ पर्दा ओत लाग्न सजिलो हुनुका साथै चिसोबाट बचाउन सकिने बताए ।

“हिमपातको समयमा कमजोर भेडाबाख्रा र पाठापाठी चिसोले धेरै मरेकाले घुम्तीगोठको आवश्यकता थियो”, उनले भने, “घुम्तीगोठ भएपछि घाँसपानी दिन सकेमा भेडाबाख्रा हराउने र मर्ने जोखिम घटेको छ ।” छन्त्याललगायत पाँच जना भेडाबाख्रापालक किसानले घुम्तीगोठ निर्माणमा साझेदारी गरेका हुन् । जस्तापाताले छाएको र भुइँमा ढलान गरिएको घुम्तीगोठ घेराबारका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत विनियोजन भएको रु चार लाखबाट अन्नपूर्ण गाउँपालिका–५ खोपारा र बयलीमा घुम्तीगोठ संरक्षणका लागि टहरा निर्माण भएको कार्यालयका सूचना अधिकारी सुभास रेग्मीले बताए ।

ढुङ्गाको पर्खाल, काठको बार र जस्ताले छाएर किसान बस्ने र चौँरीका बाछाबाछी राख्ने गोठ निर्माण भएको हो । गोठमा पाठापाठी राख्दा ब्वासो, चितुवा, स्याललगायत जनावरको आक्रमणबाट बचाउन सकिने किसानले बताएका छन् । बर्खायाम जेठदेखि असोजसम्म उच्च लेकमा र हिउँदयाम लागेपछि मङ्सिरदेखि वैशाखसम्म बेँसीका फाँटमा घुम्तीगोठ सार्ने चलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *