`

भाटभटेनीमा लागेको आगो नियन्त्रणमा नआएपछि सेनाको अगुवाइमा निभाउन सुरु

Nepal One HD २५ भदौ २०८२ १९:३४
प्रमुख खबर

भाटभटेनीमा लागेको आगो सेनाको अगुवाइमा निभाउन सुरु
सुरुङ्गा (झापा), २५ भदौः यहाँको बिर्तामोड–३ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो २४ घण्टा बित्दासमेत नियन्त्रणमा नआएपछि सेनाले निभाउन सुरु गरेको छ ।

सेनाको चारआलीस्थित अरिदमन गणको अगुवाइमा आगलागी निभाउने प्रयास भइरहेको झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो । २४ गते मंगलबार अपराह्न ४ बजे भेला भएका केही व्यक्तिले भाटभटेनी सुपरमार्केट तोडफोड गर्दै आगजनी गरेका थिए । जसका कारण हिजोदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।

बिर्तामोड नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नेपाली सेनाले भाटभटेनीमा लागेको आगो निभाउन सुरु गरेको हो । पाँचतले भवनको पहिलो तलाबाट नेपाली सेनाले आगलागी निभाउने प्रयास सुरु गरेको छ ।

आगलागी हुँदा भएको क्षतिबारे अहिले भन्न नसकिने प्रजिअ अधिकारीको भनाइ छ । आगलागी निभाउने काम सुरु गरेसँगै नेपाली सेनाले पूर्वपश्चिम राजमार्गको भगवान् चोकपूर्वदेखि विर्तामोड बजार क्षेत्रसम्म आवतजावतमा पूर्ण रुपमा रोक लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *