`

सैनिक मुख्यालय छेउमै हर्क साम्पाङ समर्थक र जेनजीबीच झडप

Nepal One HD २६ भदौ २०८२ १५:०६
प्रमुख खबर

काठमाडौं । काठमाडौँको सुन्धारामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र जेनजीबीच झडप भएको छ ।प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक–फरक समूहबीच विवाद बढेपछि झडपमा परिणत भएको हो ।

काठमाडौँमा दिउँसो निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाकै बीच विभिन्न समूहहरू प्रदर्शन गरिरहेका छन् । अहिले नेपाली सेनाले एम्बुलेन्स बाहेक कुनै पनि सवारीलाई सुनधारा सडकमा आउजाउ गर्न दिएको छैन । काठमाडौँको बबरमहलमा राष्ट्रपतिको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित अर्कै समूहले प्रदर्शन गरेको थियो ।

जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा जम्मा भएका छन् । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन भएको छ । नेपाली सेनाले कमाण्ड हातमा लिएर युवाहरूसँग छलफल गर्न थालेपछि फरक–फरक समूह जेनजी आन्दोलनको नेतृत्वकर्ताको दाबी राखेर प्रस्तुत भइरहेका छन् ।

बुधबार जंगीअड्डा गेटमा माइकिङ गरेर नेपाली सेनाले आफ्नो समूहको ‘लिडर’ को नाम र फोन नम्बर टिपाएर बिहीबार बिहान सम्पर्कमा आउन भनेको थियो । सोही कारण युवाहरूको फरक फरक समूह आफ्ना सिफारिस लिएर त्यहाँ पुग्दा कुरा नमिलेर टकरावको स्थिति पैदा भएको छ ।

अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काका सिफारिसलाई अस्वीकार गर्दै युवाहरूबीच विवाद भएको हो । अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा सुशीला कार्की, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङलाई अघि सारेका विभिन्न समूहबीच बुधबार सैनिक मुख्यालय जंगीअड्डा अगाडि विवाद भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *