`

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर । दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप विवाद घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ । गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए । घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुँदैछ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारको घटनाको यथार्थ बझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन् । समितिलाई छानबिन गर्न सात दिनको समयावधि दिइएको प्रजिअ ढकालले जानकारी दिए । ‘आज पनि कारागारको अनुगमनमा जाँदैछौँ,’ उनले भने, ’घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदनमार्फत पेस गर्ला ।’ नाइकेहरुले कारागारभित्र एकाधिकार गरेको आरोपसहित यहाँ कैदीबन्दी आन्दोलित भएका थिए । कैदीबन्दीले नाइकेहरुले आफूहरुले पाउने सेवा सुविधामा आर्थिक चलखेल गर्ने र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएका छन् । –रासस

 

सिहं र साह जस्वपाको पक्षमा सनाखत गर्न जाने क्रममा झडप

जनकपुर । जनमत पार्टी विभाजनपछि नेताहरूले जनस्वराज पार्टीमा सनाखत गर्ने क्रममा जनकपुरधाममा झडप भएको छ । मुख्यमन्त्रीबाट राजीनामा दिएका सतीशकुमार सिंह जनमत त्यागी जनस्वराज पार्टीको पक्षमा सनाखत गर्न जाने क्रममा कार्यकर्ताले विरोध गर्दा झडप भएको हो ।

कार्यकर्ताहरूले सिंहलाई निर्वाचन कार्यालयमा प्रवेश गर्न नदिने भन्दै बाटो अवरुद्ध गरेपछि प्रहरीसँग सामान्य झडप भएको हो । सिंहसँगै जनमतका पूर्वमन्त्री त्रिभुवन साह पनि सनाखतका लागि निर्वाचन कार्यालय पुगेका छन् । जनमतका नेता–कार्यकर्ताले सिंह सवार गाडीमाथि आक्रमण गर्न खोजेका थिए । तर सुरक्षाकर्मीहरूले गाडी तोडफोड हुनबाट बचाएका थिए ।

मंगलबार मात्रै जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जस्वपा गठन गरेका थिए । नव गठित जस्वपाको अध्यक्षमा दिपककुमार साह छन् । साहलाई जनमतले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै २२ साउनमा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । जनमतमा साह उपाध्यक्ष थिए । तीन जना उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव, शम्भुनाथ साह रहेका छन् । नव गठित पार्टीलाई निर्वाचन आयोगले मान्यता पनि दिइसकेको छ ।

 

 

जनकपुरमा दुई समुदायबीच तनाव, कर्फ्यू आदेश जारी

जनकपुर । धनुषाको देवपुर रुपैठामा दुई समुदायबीच फेरि तनाव सिर्जना भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा दसैँ समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो ।

प्रहरीले झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन २३ सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय समेत घाइते भएका छन् । तनाव भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।

साँझ६ः३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानभित्र कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए ।

गत भदौ दोस्रो साता मात्रै गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बीच झडप भएको थियो । एक समुदायले पोलमा राखेको झण्डा अर्को समुदायले हटाउन खोज्दा विवादपछि दुवै समुदायको झन्डा हटाइएको थियो । भदौ १६ गते मात्र सर्वपक्षीय बैठक बसेर विभिन्न निर्णयसँगै सद्भाव कायम गर्ने सहमति भएको थियो ।

 

खसी किन्ने निहुँमा दुई समूहबीच झडप, एकको मृत्यु

बाँके । बाँकेमा खसी किन्ने निहुँमा विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका– ५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु भएको हो ।

शुक्रबार बिहान उनले किन्न ठिक्क पारेको एउटा खसी अर्कैले उठाएपछि दुई समूहबीच झडप भएको हो । उनीहरुले आपसमा ढुंगा हानाहान गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार आपसमा ढुंगा लागेर घाइते भएका जाबिदको दिउँसो साढे २ बजेतिर उपचार क्रममा मृत्यु भएको थियो ।

डिएसी पातलीले हत्या घटनामा संलग्न रहेकामध्ये चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको बताए । एक स्थानीयका अनुसार झगडा गर्नेहरु सालो–भेना हुन् । मृतक बेहना सालो वा भेना को हुन् भन्नेबारे सोधपुछ हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सैनिक मुख्यालय छेउमै हर्क साम्पाङ समर्थक र जेनजीबीच झडप

काठमाडौं । काठमाडौँको सुन्धारामा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र जेनजीबीच झडप भएको छ ।प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक–फरक समूहबीच विवाद बढेपछि झडपमा परिणत भएको हो ।

काठमाडौँमा दिउँसो निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाकै बीच विभिन्न समूहहरू प्रदर्शन गरिरहेका छन् । अहिले नेपाली सेनाले एम्बुलेन्स बाहेक कुनै पनि सवारीलाई सुनधारा सडकमा आउजाउ गर्न दिएको छैन । काठमाडौँको बबरमहलमा राष्ट्रपतिको अवस्था सार्वजनिक गर्नुपर्ने मागसहित अर्कै समूहले प्रदर्शन गरेको थियो ।

जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा जम्मा भएका छन् । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन भएको छ । नेपाली सेनाले कमाण्ड हातमा लिएर युवाहरूसँग छलफल गर्न थालेपछि फरक–फरक समूह जेनजी आन्दोलनको नेतृत्वकर्ताको दाबी राखेर प्रस्तुत भइरहेका छन् ।

बुधबार जंगीअड्डा गेटमा माइकिङ गरेर नेपाली सेनाले आफ्नो समूहको ‘लिडर’ को नाम र फोन नम्बर टिपाएर बिहीबार बिहान सम्पर्कमा आउन भनेको थियो । सोही कारण युवाहरूको फरक फरक समूह आफ्ना सिफारिस लिएर त्यहाँ पुग्दा कुरा नमिलेर टकरावको स्थिति पैदा भएको छ ।

अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काका सिफारिसलाई अस्वीकार गर्दै युवाहरूबीच विवाद भएको हो । अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा सुशीला कार्की, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङलाई अघि सारेका विभिन्न समूहबीच बुधबार सैनिक मुख्यालय जंगीअड्डा अगाडि विवाद भएको थियो ।

बाँकेको बाल सुधारगृहमा झडप, पाँच जनाको मृत्यु

नेपालगञ्ज । नौवस्तास्थित बाल सुधारगृहमा झडप हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याईकर्ता गेट फोरेर बाहिर निस्कन खोज्दा भएको झडपमा उनीहरुको मृत्यु भएको हो।

कारागारमा रहेका ५८५ मध्ये १४९ जना र बालसुधार गृहबाट ७६ जना भागेको उल्लेख गर्दै बालबिज्याईकर्ता र थुनुवालाई एकै ठाउँमा राखेका कारण यो अवस्था सिर्जना भएको होे ।

झडपमा घाइते भएकाहरुलाई नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाइतेको जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।