जनकपुरमा दुई समुदायबीच तनाव, कर्फ्यू आदेश जारी


जनकपुर । धनुषाको देवपुर रुपैठामा दुई समुदायबीच फेरि तनाव सिर्जना भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रूपैठामा दसैँ समापनपछि दुर्गादेवीको प्रतिमा सेलाउन जाने क्रममा अर्को समुदायले ढुङ्गामुढा गरेपछि झडप भएको थियो ।
प्रहरीले झडप नियन्त्रणमा लिन र थप क्षति हुन नदिन २३ सेल अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा ढुङ्गामुढाबाट केही प्रहरी र स्थानीय समेत घाइते भएका छन् । तनाव भएपछि स्थानीय प्रशासनले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
साँझ६ः३० बजेदेखि वडा नम्बर २० को विभिन्न स्थानभित्र कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । आक्रोशित भीडले केही अर्को समुदायको घरमा समेत आगजनीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजिव यादवले जानकारी दिए ।
गत भदौ दोस्रो साता मात्रै गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदाय बीच झडप भएको थियो । एक समुदायले पोलमा राखेको झण्डा अर्को समुदायले हटाउन खोज्दा विवादपछि दुवै समुदायको झन्डा हटाइएको थियो । भदौ १६ गते मात्र सर्वपक्षीय बैठक बसेर विभिन्न निर्णयसँगै सद्भाव कायम गर्ने सहमति भएको थियो ।