`

झापा दमकमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप

Nepal One HD ६ माघ २०८२ १३:३६
प्रमुख खबर

झापा । झापाको दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओलीविरुद्ध रास्वपा कार्यकर्ताहरुले नाराबाजी गरेपछि झडप भएको बताइएको छ ।

अहिले पनि त्यहाँको अवस्था तनावपूर्ण रहेको छ । झापा–५ बाट उम्मेदवारी दिन रास्वपा नेता बालेन साहसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो । सोही क्रममा कार्यकर्ताहरुले ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
दमकस्थित गोल्चोक क्षेत्रमा दुवै दलका समर्थकबीच झण्डा छोइएको विषयलाई लिएर विवाद सुरु भएको थियो । एमालेले आफ्ना कार्यकर्ता भेला हुन तोकेको स्थानमा रास्वपाका समर्थकहरूले ठाउँ नछाडेपछि स्थिति तनावपूर्ण बनेको प्रहरीले जनाएको छ । रास्वपाका कार्यकर्ता गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भेला हुने तय भए पनि दुवै समूह एउटै क्षेत्रमा आमनेसामने भएपछि घम्साघम्सी भएको हो । रास्वपाका युवाहरूले ढुङ्गा प्रहार गरेपछि स्थिति केही बेर अनियन्त्रित बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय दमकले भने घटनालाई सामान्य भन्दै अहिले अवस्था नियन्त्रणमा रहेको दाबी गरेको छ । ‘दुई पक्षबीच सामान्य विवाद र धकेलाधकेल भएको हो, अहिले स्थिति सामान्य भइसकेको छ,’ एक प्रहरी अधिकारीले भने ।
घटनापछि दमक चोक र निर्वाचन कार्यालय आसपासको क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । सम्भावित मुठभेडलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा सतर्कता बढाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *