बाबुराम भट्टराईले गरे सुशीला कार्कीलाई छिटो शपथ खुवाउन आग्रह


काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिम सरकार प्रमुख पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने निर्णयप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएका छन् । कार्कीलाई अग्रिम बधाई दिँदै उनले उनीप्रति सिंगो देशले सहयोग र समर्थन गर्नुपर्ने अपिल समेत गरेका छन् । कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा विधिवत् शपथ ग्रहण गराएर अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गर्न उनले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह पनि गरेका छन् ।
‘नयाँ नेपालको नेतृत्व गर्न उद्दत जेनजीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्व प्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ । उहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नु पर्दछ । हाम्रो तर्फबाट पनि उहाँलाई पूर्ण समर्थन र अग्रिम बधाई’, भट्टराईले शुक्रबार बिहान विज्ञप्ति जारी गरी भनेका छन्, ‘अब उहाँलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गरिनु पर्छ । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुन सक्छ, संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुन्छ ।’ अहिलेको अवस्था २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजिरभन्दा फरक रहेकाले यसमा संवेदनशील बन्न पनि भट्टराईले जेनजीलाई आग्रह गरेका छन् ।
‘यस सन्दर्भमा २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजीर भने कत्ति पनि मेल खाँदैन । त्यतिबेला विद्यमान अन्तरिम संविधान २०६३ मा ’राजनीतिक सहमतिका आधारमा’ कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र ’राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी) बीचको सहमति बुझ्नु पर्छ’ भनेर स्पष्टीकरणसमेत त्यहीँ राखिएको थियो’, उनले भनेका छन्, ‘तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेनजीले धेरै संवेदनशील भएर सोच्नु पर्छ । अहिलेको आन्दोलनभन्दा पनि ठूलो बलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेनजीको दीर्घकालीन हितमा हुनेछ ।’