`

‘देश परिवर्तन भएको हेर्न चाहन्छौँ’

Nepal One HD ३ असोज २०८२ १३:३३
प्रमुख खबर
भक्तपुर । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते गोली लागेर मृत्यु भएका भक्तपुर निवासी सहिदका परिवारको आँखा अझै ओभाएका छैनन् ।
छोरा सहिद भएको ११ दिन बित्दा पनि सहिद परिवारमा शोकको कुनै मूल्य नभएको बताउँदै सहिद परिवार भन्छन्, “उनीहरुको सपनाअनुसार देश परिवर्तन भएको हेर्न चाहन्छौँ ।” चाँगुनारायण नगरपालिका–२ दुवाकोट सोमथली निवासी २१ वर्षीय अभिषेक चौलागाई २४ गते आन्दोलनकै क्रममा संसद् भवन परिसरमा गोली लागेर मृत्यु भएको थियो ।
दोलखा जिल्ला सैलुङ गाउँपालिका स्थायी घर भई भक्तपुर–दुवाकोटमा सानो घर बनाएर बस्दै आएका अभिषेकका पिता भने नेपाल प्रहरीमा कार्यरत छन् । गत भदौ २३ र २४ गते अभिषेकका बुबा दिनेश भने भक्तपुरस्थित सल्लाघारीमा प्रहरीको ‘ड्यिुटी’मै थिए।
गत भदौ २४ गते सादा पोसाकमा ‘ड्यिुटी’मा खटिनुभएका दिनेशले छोरालाई आन्दोलनमा नजान भनेका थिए। उनी भन्छन्, “११ः१५ बजेसम्म म घरमै छु भन्थ्यो, अघिल्लो दिन आन्दोलनमा गए पनि २४ गते नजान भनेको थिएँ, देश भ्रष्टाचारले डुब्यो, परिवर्तन गर्नु छ भन्थ्यो, कतिखेर बानेश्वर पुगेछ, संसद् भवनमै छातीमा गोली लागेर करिब बेलुका ६ः३० बजेतिर मृत्यु भइसकेछ ।”
“रातभरि छोरा घरमा आएन, फोन लाग्दैन । आमाबुबालाई निकै सास्ती भयो । भदौ २५ गते अपराह्न अस्पतालमा शव भएको खबर आउँदा परिवारमा कसैको होस रहेन । बूढेसकालको एक मात्र साहारा, परिवारको आडभरोसा । २१ वर्षको एक मात्र छोरा गुमाउँदाको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ”, उनी भन्छन् ।
त्रिचन्द्र क्याम्पसमा होटल म्यानेजमेन्टमा स्नातक पढ्दै गरेका अभिषेकले परिवारको मञ्जुरीबिना नै आन्दोलनमा सहभागी हुँदा फोनमा भनेको कुरा भक्कानिँदै आमा रीता भन्छीन्, “देशका लागि केही गर्नेबेला आएको छ, देश परिवर्तनका लागि मर्नु परे पनि मर्छु, म आन्दोलनमा छुँ, चिन्ता नलिनु, आमा । अरू बेलामा पनि म विदेश जान्न, देशमै केही गर्छु भन्थ्यो, देशकै लागि जन्मेको रैछ, देशकै लागि गयो ।”
कक्षा १० पढ्दै गरेकी १५ वर्षीय एलिशालाई पनि दाजु गुमाउँदाको पीडाले छाडेको छैन । प्रहरीमा कार्यरत दिनेश भन्नुहुन्छ, “ऊ देशका लागि सहिद भयो, देश परिवर्तन भएको हेर्न चाहन्थ्यो, भ्रष्टाचार निर्मूल भएको हेर्न चाहन्थ्यो, यति भए उनीहरुले न्याय पाउँथे ।” भतिजको किरिया कर्ममा रहेका केशर भ्रष्टाचारमुक्त देश तथा कार्यकारी प्रधानमन्त्रीको सपना उनीहरू भएकाले त्यसैअनुसार हुनपर्ने बताउनुहुन्छ ।
त्यस्तै दोलखाको बिगु गाउँपालिका–३ स्थायी घर भई दुवाकोटस्थित किरिया घरमा छोराको शोकमा रहेका केशव बुढाथोकी दम्पतीको पीडा पनि उस्तै छ । भदौ २४ गतेको आन्दोलनका क्रममा कोटेश्वरमा गोली लागेर सहिद भएका २२ वर्षीय महेश बुढाथोकीका बुबा केशव र आमा दिलकुमारीको साहारा खोसिएको छ । एक वर्षअघि देखि क्यान्सर रोगले थलिएकी आमाको स्याहारसुसार, औषधि र अस्पतालको व्यवस्थापन गर्दै आएको छोरा सधैँका लागि अस्ताएपछि परिवार बेसहारा बनेका छ ।
ग्यास कम्पनीमा मजदुरी गर्दै आएका केशव भन्नुहुन्छ, “म सुकेधाराको ग्यास कम्पनीमा काम गर्छु, क्यान्सर रोगी आमाको सबै अभिभारा बोकेको थियो, वैदेशिक रोजगारीका लागि माल्टा जाने तयारी पनि गर्दै थियो, म्यानपावरलाई रु ५० हजार बुझाइसकेको थियो, गरिब परिवारको सबै सपना थाती राखेर सधैँका लागि अस्तायो ।” युवापुस्ताले खोजेजस्तो देशले परिवर्तन पाए सहिदको बलिदानले न्याय पाउने बताँउछन्, भतिजको किरिया कर्ममा बसेका महेशका माइलाबुवा यज्ञबहादुर बुढाथोकी पनि ।
चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा बस्दै आएका अर्का युवा रोशन ९योगेन्द्र० न्यौपाने पनि यही आन्दोलनमा आस्ताए । चाँगुनारायण माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरी उच्च शिक्षा अध्ययनरत न्यौपानेको परिवार भने किरियाका लागि दुवाकोटको घरबाट पैतृक थलो सिन्धुली पुगेको छ । सहिद न्यौपानेको परिवार तथा आफन्तीजनका तर्फबाट पनि देश परिवर्तनका लागि भएको जेन्जी प्रदर्शनका क्रममा शहादत प्राप्त गर्ने सहिदका सपना साकार पार्न सरकारका साथ सम्बद्ध सबैसँग माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *