`

बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना

Nepal One HD ५ असोज २०८२ ११:५७
प्रमुख खबर

काठमाडौं । एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाउनुभएको यो दृश्य ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीको एउटा आकर्षण हो ।

चितवनको भरतपुरस्थित घर नजिकै आमाले हरेक हप्ता त्यही गुम्बामा लैजान्थिन् । उनको मानसपटकमा त्यो गुम्बा रहिरह्यो । जहिले पनि त्यहाँ पुग्दा उनलाई शान्ति मिल्थ्यो । त्यो बाल्यकालको छाप काठमाडौँ आउँदा पनि मेटिएन । गुम्बाको याद सधैँ आइरहने हुँदा तेल रङले क्यान्भासमा उतारेर राखिन् । एक वर्षअघि बनाएको चित्र अहिले उनको सानेपामा जारी पहिलो एकल कला प्रदर्शनीमा समावेश छ ।

प्रदर्शनीको अर्काे आकर्षण हो– बौद्धमा रहेको गुम्बा । कुनै एक विदेशीले बौद्धमा सहर बस्नुअघि नै खिचेको पुराना तस्बिरहरू उनले संगालेकी थिइन् । त्यसमध्येको केही तस्बिरलाई उनले क्यान्भासमा तेल रङमार्फत उतारेकी छन् । जहाँ बौद्ध वरिपरि परम्परागत घरहरू मात्रै छन् । बाँकी सुन्दर प्रकृति अनि फाँटहरू । अहिले त्यो दृश्य तस्बिर र यस्तै क्यान्भासमा मात्रै सीमित छ । उनले त्यही पुरानो यादलाई क्यान्भासमार्फत जीवन्त दिन खोजेकी छन् ।

त्यही बौद्धको पुरानो सम्झनालाई उनले क्यानभासमा भरेर प्रदर्शन गरेकी छन् । फरक–फरक कोणबाट खिचिएका बौद्धका तस्बिरलाई उनले क्यानभासमा उतारेकी छन् । उनलाई बौद्धले सबै तानिरहने सुनाइन् । चार वर्षअघि बनाएको चितवनकै गर्मीको समयको सूर्यमुखी फूललाई पनि उनले देखाएकी छन् । आना त्यसलाई वास्तविकभन्दा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछिन् ।

यस्तैयस्तै प्रकृति, त्यसमा खेलिरहने फूल र केही बौद्ध गुम्बालाई विषय बनाएर आना ढकालको अहिले यहाँ ‘इन द सेल्टर अफ नेचर’ शीर्षकमा एकल कला प्रदर्शनी गरिरहेकी छन् । अझै आठ दिन यहाँ उनको कला हेर्न सकिन्छ । उनी भन्छिन्, ‘मानव जीवनको प्रकृतिसँग कति सम्बन्ध छ भनेर देखाएकी छु ।’ उनले प्रदर्शनीमा कतिपय फूलहरू पनि समावेश गरेकी छन् । बौद्धको पुराना तस्बिरलाई क्यानभासमा उतारेकी छन् । जुन बेला सुन्दर फाँट र परम्परागत घरहरूको बीचमा रहेको बौद्ध गुम्बालाई उनले विषय बनाएर फरक फरक कोणबाट क्यान्भास सजाएकी छन् ।

‘म मान्छेसँग टाढिएर प्रकृतिसँग नजिक भएँ, जीवनमा प्रकृतिले धेरै असर पारेको छ, त्यसैले प्रकृति र धर्म, संस्कृति र फूलहरू मेरा विषय बनिदिन्छन्’, उनी थप्छिन् । वनजङ्गल, खोला पुलपुलेसा, भिरपाखा, पखेरा, तालतलैया, आकाश, बादल, चराचुरुङ्गी, जीवजन्तु र डाँडाकाँडा उनको सिर्जनाका रुचिका विषय हुन् । त्यही प्राकृतिक सुन्दरतामा उनको कुची चलेको छ । प्रकृतिसँगको गहिरो सम्बन्ध यो प्रदर्शनीमा देख्न सकिन्छ । उनको मुख्य रुचि तेल रङलाई खेलाउनु हो ।
‘प्रकृतिपछि बौद्ध सबै नेपालीहरूबीच नजिक छ, बुद्ध एकदम शान्त लाग्छ’, आना भन्छिन्, ‘मनले माग्छ अनि प्रकृतिसँगै त्यसलाई पनि उतार्छु ।’

उनी कलालाई शब्दले बयान गर्न सकिँदैन भन्छिन् । उनले थपिन्, ‘रङमार्फत प्रकृतिलाई बुझाउने प्रयास गर्छु, प्रकृतिले नबोलिकन धेरै कुरा सिकाउँछ भनेर देखाउन खोजेकी छु प्रदर्शनी हेरिदिनुस् ।’ आनाले कला पढेकी होइन, आफै घरमा बनाउँदा बनाउँदै सिकेकी हुन् । पाँच वर्षदेखि कला साधनामा उनी सक्रिय छिन् । अन्य कलाकारका भन्दा उनका सिर्जना कमजोर लाग्दैनन् । उनी आफ्नै शैलीका सिर्जना गर्छिन् । परम्परागत कलामा पनि उनलाई रुचि छ । थाङ्कामा पनि चाहना छ ।

कहिलेकाहीँ कतिपय समयमा ग्रीनतारालाई विषय बनाएर आफ्नै शैलीले रङ भर्छिन् । यहाँ हेर्न आएका कला पारखीहरू अझै कलामा उच्च शिक्षा गरे भने अझै कलामा निखारता आउने सुझाव उनलाई दिन्छन् । जेनजी पुस्ताबाट केही महिना नाघेकी आनाले भ्रष्टाचार रोकौँ भनेर भदौ २३ गते जेनजीको वास्तविक मागको समर्थन गर्दै माइतीघर पुगिन् । भ्रष्टाचार रोक्ने नारासहित ग्रामीण दृश्यचित्र बोकेर गएकी आनाको उक्त क्यान्भासमा सयौँ युवाले हस्ताक्षर गरेर उनको अभियानमा समर्थन जनाए । त्यही क्यान्भासलाई पनि उनले यहाँको प्रदर्शनीमा राखेकी छन् ।

अझै आफूलाई निखार्दै गरेको बताउने आना अग्रज कलाकारको सिर्जना हेरेर पनि धेरै सिकिरहेकी सुनाउँछिन् । आधा समय कला सिर्जना गरेर बिताउने र आधा समय प्रकृति र फूलसँग खेल्ने गरेको सुनाउने आना सहर बजारभन्दा गामीण परिवेशप्रति रुचि रहन्छ भन्छिन् । त्यसैले उनको सिर्जनामा पनि ग्रामीण दृश्यहरू देख्न पाइन्छ । काठमाडौँमा मन्दिर गुम्बाहरूमा उनी घुम्न जान्छिन् । त्यहाँबाट पनि प्रभावित हुने गरेको आनाले सुनाइन् । अहिले ललितपुरमा कुञ्जको प्रस्तुतिमा उनको एकल कला प्रदर्शनी भइरहेको छ । चार वर्षदेखि बनाएका १५ कलालाई उनले प्रदर्शनीमा राखेकी छन् । आयोजक कुञ्जकी अध्यक्ष स्वेता चन्द उनले यहाँ प्रकृतिलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको बताइन् । कुञ्जले गरेको यो दोस्रो कला प्रदर्शनी हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *