जेनजी आन्दोलनले सरकार ढले पनि पुरानो सत्ता ढलेको छैन : बाबुराम भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक परिवर्तन ‘आंशिक सफलता’ मात्र भएको बताएका छन् । उनले दीर्घकालीन स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् ।
पार्टीको अध्यक्ष त्यागेको भोलिपल्ट आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका कारण सरकार ढलेको तर पुरानो सत्ता नढलेको उल्लेख गरे ।
‘तपाईंहरुले आंशिक जित हासिल त गर्नुभयो, सरकार त ढाल्नु भयो,’ भट्टराईले भने, ‘तर, पुरानो सत्ता ढलेको छैन ।’ उनका अनुसार, सत्ता परिवर्तन भए पनि मुलुकमा राजनीतिक स्थायीत्व र सुशासन सुनिश्चित हुन सकेको छैन । भ्रष्टाचार र अस्थायित्व जन्माउने संरचना तोड्न व्यवस्थागत सुधार अपरिहार्य भएको भट्टराईको भनाइ छ । उनले भने, ‘व्यवस्था नै बदल्न खोजेको त होइन, तर व्यवस्थामा महत्वपूर्ण सुधार गरेर जुन भ्रष्टहरु जन्मिए, फेरि भ्रष्टहरू नजन्मिउन । त्यसका लागि केही सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्छ ।’
संविधान निर्माणको समयदेखि नै निर्वाचन प्रणालीमा त्रुटि रहेको उनले बताएका छन् । ‘मैले संविधान बनाउने बेलादेखि नै यो संविधान आधा गिलास खाली, आधा गिलास भरी भनेको थिएँ । किनकी यो शासकीय त्रुटि छ, त्यसले गर्दा कसैलाई पनि बहुमत ल्याउन दिँदैन,’ भट्टराईले स्पष्ट पारे । उनले वर्तमान प्रणालीलाई स्थायित्वत्वविहीन ठहर गर्दै भने, ‘कुनै पनि सरकारलाई ५ वर्ष टिक्न दिँदैन । जब देशमा लोकतान्त्रिक स्थिरता हुँदैन, त्यतिबेलासम्म सुशासन र समृद्धि हुँदैन ।’
समाधानको उपाय सुझाउँदै भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई विकल्पका रूपमा अघि सारे। ‘प्रत्यक्ष निर्वाचित प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन । यिनै भ्रष्टहरु चलखेल गरेर फेरि आउने र तपाईंहरूको बलिदान खेर जान्छ,’ उनले चेतावनी दिए । उनले जेनजीहरुलाई सरकारसँग संवाद गरेर व्यवहारिक सम्झौता खोज्न सुझाव दिए ।
