`

दैलेखमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Nepal One HD ९ असोज २०८२ २१:०८
समाज

दैलेख, ९ असोज : कर्णाली राजमार्गअन्तर्गत आज पाल्तडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३ ०२–००६ प ८५६६ नम्बरको मोटरसाइकलले कर्णाली प्रदेश ०२–००१ ख ०२७५ नम्बरको ट्रकलाई ओभरट्याक गर्न खोज्दा दुर्घटना हुन गई मोटरसाइकलको पछाडि सवार कालिकोट खाडाचक्र नगरपालिका–११ का १८ वर्षका एडमन शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ओभरट्याक गर्ने क्रममा मोटरसाइकलमा सवार शाही ट्रकमा ठोक्किएर सडकमा बजारिएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

दाङको तुल्सीपुर उपमहानगरपालिका–१८ बस्ने ४८ वर्षीय ट्रक चालक बालाराम खड्का र कालिकोटको खाडाचक्र नगरपालिका–११ का मोटरसाइकल चालक २३ वर्षीय बिपीन भारतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोष्टमार्टम कर्णाली प्रदेश अस्पतालमा भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *