`

मुस्ताङ भन्सारमा दुई अर्ब दुई करोड ९६ लाख २९ हजार राजस्व सङ्कलन

Nepal One HD १५ असोज २०८२ १८:३४
अर्थ समाचार

मुस्ताङ, १५, असोजः नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा रु दुई अर्ब दुई करोड ९६ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौमा पूर्णरुपमा सञ्चालनमा आएको यहाँको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मङ्गलबार बिहानसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।

यो भन्सार कार्यालयको इतिहासमै पहिलो पटक त्यति ठूलो अनुपातमा राजस्व सङ्कलन भएको हो । यहाँ दैनिक औसत भन्सार राजस्व रु १३ करोड ६६ लाख बढी अनुपातमा राजस्व सङ्कलन गर्न सफल भएको देखिएको छ । यसअघि यहाँको भन्सार कार्यालयले बर्सेनि सीमापार गर्ने उपल्लो मुस्ताङका नागरिकले आयात गर्ने घरायसी मालवस्तु राजस्व रु १० देखि १५ लाखमै सीमित रहन्थ्यो । यसपटक बाढीपहिरो र नदी कटानका कारण रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा यहाँको नाकाबाट मालबस्तु तथा विद्युतीय सवारी आयात बढ्दो रहेको हो ।

सीमावर्ती स्थानीय नागरिकका लागि मात्रै सञ्चालनमा आएको कोरला नाका भन्सार विभागले पूर्णरुपमा सञ्चालनमा ल्याएसँगै कोरला नाकामा व्यापारिक चहलपहलसमेत ह्वात्तै बढेको हो । यस भन्सार कार्यालयमा चीनबाट कोरला नाका हुँदै भित्रिएका एक हजार १०९ विद्युतीय सवारी साधनमध्ये ९६५ को भन्सार जाँचपास भइसकेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । भन्सार कार्यालय न्हेचुङमा हाल १४४ विद्युतीय सवारी साधनको भन्सार जाँचपाँस हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ ।

यसैगरी कोरला नाकाबाट मालवस्तु आयात गरिएका ३७५ मालबाहक कन्टेनरमध्ये सबैको भन्सार जाँचपाँस भई गन्तव्यतर्फ प्रस्थान गरेका भन्सार प्रमुख खड्काले उल्लेख गर्नुभयो । यहाँको भन्सार कार्यालयका कर्मचारी दसैँ बिदामा घरतर्फ प्रस्थान गरिसकेका छन् ।

असोज १८ गते अर्थात पूर्णिमासम्म दसैँको सार्वजनिक बिदा भएको र दसै मनाएर कार्यस्थलमा फर्किन दुई दिन समय लाग्ने भएकाले सम्भवत २१ गतेदेखि पुनः भन्सारका नियमित कार्यसम्पादन सुरु हुने भन्सारका नायब सुब्बा उत्तम राईले जानकारी दिनुभयो ।

नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै मुस्ताङमा व्यापारिक चहलपहलसमेत बढेको छ । नाका सञ्चालनले यहाँको आन्तरिक व्यापार व्यवसाय राम्रो चलेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।

यसैगरी नाकामा स्थानीय नागरिक र सवारी चलाउन जान्ने युवाहरुले राम्रो आम्दानी गरेको अध्यक्ष गुरुङको भनाइ छ । नाकाको सीमापारी भन्सारमा लोड अनलोड गर्ने तथा त्यहाँ चीनको भन्सारमा ल्याएका विद्युतीय सवारी साधन चलाएर बाहिर निकाल्ने युवाहरुले मनग्ये आम्दानी गर्ने बाटो खुलेको उहाँले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *