मन्त्री पुनको दावी : छोरीको पढाइ र पारिवारिक खर्चमा सहयोगीहरूको भर छ


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्ना पारिवारिक खर्च र छोरीको अध्ययनसम्बन्धी उठेका प्रश्नहरूबारे सामाजिक सञ्जालमार्फत प्रष्ट पार्दै सहयोगीहरूप्रतिको आभार व्यक्त गरेका छन् ।
हालै उनकी छोरी बंगलादेशमा महँगो खर्चमा पढिरहेको विषयलाई लिएर सामाजिक सञ्जालमा केही आलोचना र जिज्ञासा उठिरहेका बेला मन्त्री पुनले स्पष्ट पारेका हुन् कि पारिवारिक खर्च—चाहे आफ्नो होस् वा श्रीमती र छोरीहरूको—आफूले होइन, साथीभाइ र शुभचिन्तकहरूले आवश्यक पर्दा पुर्याउने गरेका छन् ।
‘मन्त्री भएको हुँ भन्दैमा म तलब भत्ता लिदिनँ, यात्रा खर्च पनि आफै तिर्छु’, भन्दै पुनले लेखेका छन्, ‘३२ वर्षअघि अमेरिका फर्केर आएको एक जनाले सयौं गाउँमा इन्टरनेट पुर्याउने, राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने, कोरोनामा निःशुल्क स्वास्थ्य सामग्री वितरण गर्ने, वीरगञ्जको बन्द कृषि औजार कारखाना पुनः सञ्चालन गर्ने काम कसरी सम्भव भयो-यस्तो लागे मेरो आत्मकथा पढ्नुस् ।’
उनका अनुसार आफ्ना छोरीहरूको पढाइ मेत आवश्यक परे सहयोगी र साथीहरूले सहयोग गरिदिन्छन् । उनले यहि प्रसङ्गमा लेखेका छन्, ‘अहिलेसम्म मलाई र परिवारलाई पाल्ने, पढाउने काम शुभेच्छुकहरूले नै गरेका छन् ।’
पुनले आफूलाई लक्षित गरेर उठाइएका प्रश्नहरूलाई सामान्य रूपमा लिँदै आफ्ना विगतका कामहरूको आधारमा जनसमर्थनले नै आफूलाई टिकाइरहेको पनि संकेत दिएका छन् । ‘बात कर्ता है’, भनी पोस्टको अन्त्य गर्दै उनले आत्मकथा पढ्न आग्रह समेत गरेका छन् ।