`

मन्त्री पुनको प्रश्न : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने जेनजी युवाहरुले खोइ त बुझेको ?

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सिंहदरबार घेरेर मात्र देश विकास नहुने बताएका छन् । सामाजिक सञ्जालमा फेसबुकमा एक स्ट्याटस लेख्दै उनले जेनजीहरुलाई कार्यशैली सुधार्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको ? अहिलेको युवा पुस्तासहित भावी पुस्ताहरूको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो ।’

मन्त्री पुनले बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएकोले देशको संयन्त्रहरू बरबाद गरिरहेको पनि उल्लेख गरेका छन् । उनले युवाको यस्तो गतिविधिले देश कहिले बन्छ भन्दै प्रश्न गर्दै मन्त्री पुनले कि त अन्तिम उपाय पूर्ण क्रान्ति गर्नुपर्ने बताएका छन् ।

मन्त्री पुनले गरे ‘मिस पबी ४’ फेसबुक पेजविरुद्ध रिपोर्ट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूविरुद्ध भ्रम फैलाएको भन्दै ‘मिस पबी ४ (Miss Pabi ४)’ फेसबुक पेजविरुद्ध फेसबुक सञ्चालक मेटा कम्पनीमा रिपोर्ट गरेका छन् । आफू कुनै राजनीतिक दलमा नलाग्ने बताउँदै मन्त्री पुनले ‘मिस पबी ४’ नामको फेसबुक पेजले भ्रम फैलाएको गुनासो गरेका छन् ।

‘सावधान Miss Pabi ४ भन्ने फेसबुक पेजलाई मैले रिपोर्ट गरें र अरू साथीहरू पनि सावधान हुनुहोस्’, स्क्रिनसटसहित पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसरी जनता झुक्याउने फेसबुकेलाई रिपोर्ट गर्नु नै पर्छ; किन भने यस्ताले झुटो कुरा फैलाउँछन् र सबैलाई भाँड्ने काम गर्छन् । म कुनै पार्टीमा लाग्ने मान्छे होइन, तर Miss Pabi ४ ले भ्रम फैलाउँदै छ ।’

‘बल्ल थाहा भो, निकोलस भाइले हरेक नेपालीलाई करोडपति बनाउने कुरा’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले डा. निकोलस भुसालप्रति व्यंग्य गरेका छन् । भुसालले आफू प्रधानमन्त्री बने हरेक नेपालीलाई करोडपति बनाइने भनेर गरेको दाबीप्रति मन्त्री पुनले कटाक्ष गरेका हुन्।

शिक्षामन्त्री पुनले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘ए ! बल्ल थाहा भयो–निकोलस भाइले कसरी हरेक नेपालीलाई एक करोडपति बनाउने रहेछ भन्ने कुरा । हरेक नेपालीलाई १२ वटाको दरले सालको रुख बाँडिदिने रे ! त्यसो गर्दा नेपालको पर्यावरण के हुन्छ ? ३६ करोड सालको रुख कहाँ बेच्ने ? १०० प्रतिशत हावा कुरा कसले पत्याउँछ ?’ भुसाल समाजको शान्ति सुरक्षा भाँड्ने अभिव्यक्ति दिएको आरोपमा यही कात्तिक १८ गते पक्राउ परेर ५० हजार धरौटी बुझाई कात्तिक २५ गते रिहा भएका थिए।

भाषण गर्न र रिबन काट्न नबोलाउनु होस् : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन् । आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् मन्त्री पुनले खासगरी उद्घाटन र शिलान्यास कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा निम्तो नपठाउन आग्रह गरेका हुन् । मन्त्री पुनले आफ्नो सम्पूर्ण समय काममा लगाउन चाहेको संकेत गर्दै अनावश्यक समारोहहरूमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

कृपया कसैले पनि र कहिँबाट पनि हालको म मन्त्रीलाई उद्घाटन÷शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला,’ उनले भनेका छन् । आफू युनेस्कोको महासभाको उज्बेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सिलले नाइजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको जानकारी दिंदै उनले अत्यावश्यक काममा मात्र मन्त्रीहरू विदेश गएका स्पष्ट पारेका छन् ।

मन्त्री पुनले अत्यावश्यक र नगई नहुने महत्त्वपूर्ण बैठक तथा कामहरूमा मात्र केही मन्त्रीहरू विदेश गएको स्पष्ट पारेका छन् । उनले ‘विदेश घुम्यो’ भन्ने हल्ला नगर्न पनि आग्रह गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक समेत रहेका वैज्ञानिक पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त भएलगत्तै आफ्नो फरक कार्यशैलीका कारण चर्चामा छन् ।

जेनजी आन्दोलन आँधीबेहरीपछिको चट्याङ हो : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई आँधीबेहरीपछिको चट्याङसँग तुलना गरेका छन् । शिक्षा मन्त्रालयको प्राङ्गणमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त आन्दोलनलाई दुर्लभ, शक्तिशाली तर अस्थायी घटनाका रूपमा चित्रित गरेका छन् ।

उनले भने, ‘अहिलेको अवस्था संक्रमणकालीन हो । जेनजी आन्दोलन भनेको चट्याङै हो । अहिलेको ठाउँमा यस्तो चट्याङ हजार वर्षपछि पनि नपर्न सक्छ । यसले थोरै विध्वंस ग–यो—त्यो पनि चेतना र चेतावनीको रूपमा ।’ उनले थपे, ‘अब कहिले यस्तो चट्याङ पर्छ, कसैलाई थाहा छैन । तर इतिहासले प्रमाणित गरिसकेको छ — यस्तो क्षणले परिवर्तनको संकेत दिन सक्छ ।’

‘६ महिनापछि फेरि किताब बेच्न जान्छु’
पुनले आफू मन्त्री बन्नुको कारण राष्ट्रप्रति रहेको कर्तव्यबोध भएको बताएका छन् । उनले भने, ‘म कसैले मन्त्री बन भनेको भएर होइन, आफैंले निर्णय लिएर आएको हुँ । परिस्थितिले मलाई बोलायो ।’ आगामी निर्वाचनबारे बोल्दै उनले स्पष्ट पारे, ‘मेरो कुनै व्यक्तिगत मनसाय छैन। म ६ महिनापछि फेरि किताब बेच्न जान्छु ।’ पार्टी खोल्ने सम्भावनाबारे प्रश्न गर्दा उनले खिसिक्क हाँस्दै भने, ‘पार्टी खोल्न कात्तिक ३० गतेभित्र खोल्नु पर्छ रे ! म त किताब बेच्न जान लागेको मान्छे । अब आफै भन्नुस त, पार्टी खोल्नुको तुक हुन्छ ?’

‘चप्पल सजिलो, जुत्ता आडम्बर’
पत्रकारहरूले ‘मन्त्री ज्यू, तपाईँ अझै पनि चप्पलमै किन हुनुहुन्छ ? यो लोकप्रियतावाद होइन ?’ भन्ने जिज्ञासामा पुनले सिधा जवाफ दिए, ‘हेर्नुहोस् साथीहरू, मैले १४ वर्षको उमेरमा चप्पल लगाउँदा देब्रे–बाहिने नचिनेर दुःख पाएको छु । त्यो कुरा मैले मेरो आत्मकथामा लेखेको छु । म सम्पन्न परिवारमा हुर्किएको होइन । अहिले पनि चप्पल लगाउँदा नै सजिलो लाग्छ ।’ उनले आफूलाई जुत्तामा असहज हुने गरेको बताए । ‘जुन तपाईंलाई चप्पल लगाउँदा अप्ठ्यारो लाग्छ, मलाई जुत्ता लगाउँदा अप्ठ्यारो लाग्छ । त्यसैले चप्पल नै लगाउँछु’, मन्त्री पुनले प्रस्ट पारे ।

मन्त्री पुनले भने–मसँग पनि ‘रोलेक्स’ छ है साथीहरु, लगाएको भए त बर्बादै हुने रहेछ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले हालै सामाजिक सञ्जालमा चर्चामा रहेको ‘रोलेक्स घडी’ प्रकरणमा व्यंग्यात्मक टिप्पणी गरेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लगाएको घडीलाई लिएर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि मन्त्री पुनले आफूसँग पनि ‘रोलेक्स’ घडी भएको भन्दै व्यंग्य गरेका हुन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले आफूलाई ताप्लेजुङका एक वृद्ध दम्पतीले उपहार दिएको घडीको तस्बिर सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘मेरो पनि तल फोटोमा देखाएको रोलेक्स घडी छ है साथीहरु । यो रोलेक्स घडी अस्ती भर्खरै ताप्लेजुङमा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना बृद्ध दम्पतिले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनुभयो ।’

उनले आफूलाई ‘भट्भटे मन्त्री’ भन्दै लेखेका छन्, ‘मैले लगाएर हिँडेको भएता बर्बादै हुने रहेछ नि । धन्न झोलामा राखेर बचिएछ ।’ उनले तीन वर्षअघि बेलायतमा बस्ने एक साथीले दिएको रोलेक्स घडी फेसबुकमै बेचिदिएको तर यो घडी भने तत्काल नबेच्ने बताएका छन् । केही दिनअघि सञ्चारमन्त्री जगदीश खरेलले करोडौं मूल्य पर्ने ‘रोलेक्स’ घडी लगाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । मन्त्री बनेलगत्तै महँगो घडी लगाएको भन्दै प्रश्न उठेपछि मन्त्री खरेलले उक्त घडी ‘रोलेक्स’ नभई आफ्नो दाइको पुरानो ‘रोस्टर’ ब्रान्डको भएको स्पष्टीकरण दिएका थिए । यही प्रसंगलाई लिएर मन्त्री पुनले सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।

आविष्कार केन्द्रका लागि आफैँले बजेट छुट्याउनु अनैतिक हुन्छ: शिक्षामन्त्री पुन

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालित वीरगन्ज कृषि औजार कारखानाका लागि बजेट आवश्यक रहेको बताएका छन्।

पुनले आफूले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालित वीरगन्ज कृषि औजार कारखानामा बनेको धान काट्ने मेसिनलाई पुरानो हाते ट्रयाक्टरमा जोडेर धान काटिरहेको भिडिओ सामाजिक सञ्जालमा राख्दै सरकारसँग बजेटको माग राखेका हुन्।

आफू मन्त्री बने पनि आविष्कार केन्द्रले त्यो कारखाना सञ्चालन गरिरहेको जानकारी दिँदै उनले त्यसको आर्थिक स्रोत भनेको आफ्नो आत्मकथा किताब बेचेको पैसा र दातारूको दान मात्र भएको बताएका छन्।

पहिलेका सरकारहरूले कारखानालाई बेवास्ता गरेको गुनासो गर्दै पुनले अहिले आफू मन्त्री भएकाले त्यसका लागि आफैँले बजेट छुट्याउँदा अनैतिक हुने दुखेसो समेत पोखेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म मन्त्री भए पनि राष्ट्रिय आविष्कार केन्द्रले वीरगन्ज कृषि औजार कारखाना चलाइरहेकै छ। आर्थिक स्रोत भनेको मेरो आत्मकथाको किताब बेचेको पैसा र दाताहरूले दान गरेको पैसा हो’, ‘मन्त्री भएर कारखानाको लागि म आफैँले बजेट छुट्याउनु अनैतिक काम हुन्छ। पहिलेको सरकारहरूले छुट्याएको भए हुन्थ्यो तर छुट्‌याएनन्। भविष्यका सरकारले पैसा छुट्‌याए पनि हुन्छ।’

उनका अनुसार वीरगन्ज कृषि औजार कारखानामा बनेको धान काट्ने मेसिनको परीक्षण भइरहेको छ र अब परीक्षण सफल भएपछि उत्पादन सुरु हुने अपेक्षा गरेका छन् ।

 

 

जेनजीलाई गुटबन्दी नगर्न मन्त्री पुनको आग्रह, सुनाए रणबहादुर शाहकालीन इतिहास

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजीसहित राष्ट्रलाई माया गर्ने सम्पूर्ण नेपालीलाई खुट्टा तानातान र गुटबन्दी नगर्न आग्रह गरेका छन् ।

रणबहादुर शाहपालादेखिका इतिहास सुनाउँदै मन्त्री पुनले एकआपसमा झगडा गर्दा देशलाई फाइदा होइन, नोक्सान मात्रै हुने कुरामा सचेत गराएका छन् ।

‘राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन नि, झनै धेरै नोक्सान हुन्छ’, मन्त्री पुनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले अहिलेको परिप्रेक्ष्यमा देश विकास र सार्वभौमसत्ताको रक्षाको लागि गुटबन्दी नगरौँ भन्ने मेरो अनुरोध जेनजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई अनुरोध छ । गुटबन्दी र खुट्टा तानातान गर्‍याे भने कसलाई फाइदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पानाबाट पनि सिकौं ।’

१) नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातान गीर्वाण युद्धविक्रम र राजेन्द्रविक्रम शाहको पालासम्म आइपुग्दा चरम विन्दुमा पुगिसकेको थियो । त्यसैको परिणामस्वरूप नेपाली जनताले १०४ वर्षसम्म निरकुंश राणातन्त्र बेहोर्नुपर्‍यो ।

२) राणातन्त्र सुरु भएपछि प्रधानमन्त्री वीरशमशेरकै पालादेखि गुटबन्दी सुरु भयो । उनीहरूले राणा खलकलाई नै क वर्ग, ख वर्ग, ग वर्गमा वर्गीकरण गरेर गुटबन्दी सुरु गरे र एउटा गुटले अर्को गुटको खुट्टा तानातान गरे । त्यसरी उनीहरू कमजोर भएर २००७ सालमा जनक्रान्तिद्वारा हटाइए ।

३) २००७ सालमा प्रजातन्त्रको घोषणा भए पनि २०१५ सालसम्म संसदीय चुनाव हुन सकेन । त्यसको खास कारण त्यतिबेला जन्मेका र जन्मँदै गरेका राजनैतिक दलहरूको बीचमा खुट्टा तानातान भयो । फलस्वरूप राजा महेन्द्रले चुनाव नगराउन आलटाल गर्ने आधार पाए । अनि धेरै नै ढिलो भए पनि २०१५ सालमा आम चुनाव गरेर गठन भएको बहुमतको सरकारलाई विघटन गरेर पञ्चायती व्यवस्था ल्याउने अवसर पाए । त्यो अवसरको सिर्जना त्यति बेलाको राजतैनिक समूहबीचको गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले सिर्जना गरेको थियो ।

४) २०१७ सालदेखि २०४६ सालसम्मको इतिहास हेर्ने हो भने पञ्चायती शासनभित्र राजनैतिक दलहरू नभए पनि विभिन्न गुटहरू थिए । सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुट जस्ता धेरै गुटहरू थिए र आपसमा खुट्टा तानातान गर्थे । अनि राज खलकभित्र पनि भूमिगत गिरोह भनेर चिनिने गुटहरू थिए र राजा वीरेन्द्रको कदमलाई असफल पार्ने चालबाजी खेल्थे । त्यही कारणले गर्दा पञ्चायती व्यवस्था कमजोर भयो र २०४६ सालको आन्दोलनमा ढल्यो ।

५) २०४६ सालदेखि २०८२ सालको अचानक विष्फोटन भएको जेनजी आन्दोलन सुरु भएको दिनसम्मको इतिहास निष्पक्ष भएर विश्लेषण गरौं र गर्नुहोस् । लोकतन्त्र आएपछि जेनजी आन्दोलन सुरु हुँदासम्म राजनैतिक पार्टीहरूबीच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई थाहा छ । त्यसैको परिणामस्वरूप जेनजीहरू र आम जनताहरू मिलेर विष्फोटनस्वरूप आन्दोलन गरेको हो । आन्दोलन जेनजीहरूले सुरुवात गरेको भए पनि आम जनताले सहयोग गरेका छन् । किनभने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्बाद भएको देख्न नसकेर चरम आक्रोशित भएका थिए ।

६) यो माथिको इतिहास हेरेर जेन–जीहरुले पाठ सिक्न अनुरोध छ । तपाईंहरू भनेको एउटा निश्चित उमेरको युवाहरूको समूह हो । तपाईंहरूको राजनीतिक संगठन छैन । तपाईंहरूले देशमा सुशासन ल्याउन चाहनु हुन्छ र भ्रष्टाचार निर्मूल पार्न चाहनु हुन्छ । अनि तपाईंहरूले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ । यो सपना पूरा गर्नका लागि तपाईंहरूमा एकताको अत्यन्तै खाँचो देखेको छु । किनभने तपाईंहरूबीचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदैछ । मातृभूमिको अस्तित्वका लागि म विनम्र अनुरोध गर्दछु कि नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्‍याउनु होस् ।

मन्त्री पुनको दावी : छोरीको पढाइ र पारिवारिक खर्चमा सहयोगीहरूको भर छ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्ना पारिवारिक खर्च र छोरीको अध्ययनसम्बन्धी उठेका प्रश्नहरूबारे सामाजिक सञ्जालमार्फत प्रष्ट पार्दै सहयोगीहरूप्रतिको आभार व्यक्त गरेका छन् ।

हालै उनकी छोरी बंगलादेशमा महँगो खर्चमा पढिरहेको विषयलाई लिएर सामाजिक सञ्जालमा केही आलोचना र जिज्ञासा उठिरहेका बेला मन्त्री पुनले स्पष्ट पारेका हुन् कि पारिवारिक खर्च—चाहे आफ्नो होस् वा श्रीमती र छोरीहरूको—आफूले होइन, साथीभाइ र शुभचिन्तकहरूले आवश्यक पर्दा पुर्‍याउने गरेका छन् ।

‘मन्त्री भएको हुँ भन्दैमा म तलब भत्ता लिदिनँ, यात्रा खर्च पनि आफै तिर्छु’, भन्दै पुनले लेखेका छन्, ‘३२ वर्षअघि अमेरिका फर्केर आएको एक जनाले सयौं गाउँमा इन्टरनेट पुर्‍याउने, राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने, कोरोनामा निःशुल्क स्वास्थ्य सामग्री वितरण गर्ने, वीरगञ्जको बन्द कृषि औजार कारखाना पुनः सञ्चालन गर्ने काम कसरी सम्भव भयो-यस्तो लागे मेरो आत्मकथा पढ्नुस् ।’

उनका अनुसार आफ्ना छोरीहरूको पढाइ मेत आवश्यक परे सहयोगी र साथीहरूले सहयोग गरिदिन्छन् । उनले यहि प्रसङ्गमा लेखेका छन्, ‘अहिलेसम्म मलाई र परिवारलाई पाल्ने, पढाउने काम शुभेच्छुकहरूले नै गरेका छन् ।’

पुनले आफूलाई लक्षित गरेर उठाइएका प्रश्नहरूलाई सामान्य रूपमा लिँदै आफ्ना विगतका कामहरूको आधारमा जनसमर्थनले नै आफूलाई टिकाइरहेको पनि संकेत दिएका छन् । ‘बात कर्ता है’, भनी पोस्टको अन्त्य गर्दै उनले आत्मकथा पढ्न आग्रह समेत गरेका छन् ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे मन्त्री पुन : संगठित रूपमा चुनावमा भाग लिनुहोस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देखेका नेपालीहरूलाई संगठित रूपमा चुनावमा भाग लिन आह्वान गरेका छन् ।

पुराना नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव नहुने भएकाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा केन्द्रित हुन मन्त्री पुनले अपिल गरेका छन् ।

मन्त्री पुनले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रस्ट आह्वान–भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरूले चलखेल गर्न नपाउन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देख्नु भएका सम्पूर्ण नेपालीहरूले योग्य, नैतिकवान र दृढ संकल्प भएको युवा जनप्रतिनिधिहरू छान्न कत्ति पनि झैझगडा नगरीकन संगठित रूपमा चुनावमा भाग लिने तयारीमा तुरुन्त लाग्नुहोस् भन्ने आह्वान गर्दछु । कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन ।’

जेनजी आन्दोलको एउटा माग प्रत्यक्ष रूपमा चुनिएको सरकार प्रमुख हुनुपर्ने पनि हो भनेर आवाज अहिले उठिरहेको छ । तर प्रधानमन्त्री सुशीला कार्कीले शासकीय स्वरूप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने र संविधान संशोधन वर्तमान सरकारको कार्यक्षेत्रभित्र नपर्ने बताएकी छन् । हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आगामी निर्वाचनपछि मात्रै संविधान संशोधन हुनसक्ने बताइन् ।

मन्त्री महावीर पुनले कार्यकक्षबाट हटाए ‘माननीय’ शब्द

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले आफ्नो कार्यकक्ष बाहिर टाँसिएको बोर्डबाट ‘माननीय’ शब्द हटाएका छन् । सोही बोर्डमा मन्त्रालयका कर्मचारीले डा. पुनको नाम अगाडि ‘माननीय’ लेखेका थिए । तर, मन्त्री पुनले त्यो बोर्ड देखेपछि ‘माननीय’ शब्द हटाएर नाम मात्र लेख्न निर्देशन दिएका हुन् । उनले दिएको निर्देशनपछि कर्मचारीले नयाँ प्रिन्ट निकालेर सिर्फ नाम मात्र उल्लेख गरिएको बोर्ड टाँसेका छन् ।

यसअघि पनि मन्त्री पदको शपथ लिएर पदभार ग्रहण गर्दा महावीर पुनले आफूलाई ‘माननीय मन्त्री’ नभन्न आग्रह गरेका थिए । उनको भनाइमा, मन्त्रालयभित्र कर्मचारीले ‘मन्त्री’ भनेर सम्बोधन गर्न सक्ने भए पनि बाहिरका मानिसले सामान्य रूपमा मात्रै सम्बोधन गर्नु उपयुक्त हुने बताइएको छ ।

सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्न शिक्षामन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसमक्ष नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय कर्मचारीलाई दरबन्दीमा राख्नुपर्ने लगायत माग प्रस्तुत गरेको छ । परिषद्ले विद्यालय कर्मचारीका लामो समयदेखि थाँती रहेको समस्या र विगतमा सरकारसँग भएका सहमतिका आधारमा उचित सम्बोधनका लागि शिक्षामन्त्री पुनलाई आज केशरमहलस्थित मन्त्रालयमा भेटेर आग्रह गरेको जनाइएको छ ।

परिषद्का केन्द्रीय अध्यक्ष गङ्गाराम तिवारीले शिक्षामन्त्री पुनले आफूलाई विद्यालय कर्मचारीका समस्या थाहा भएको र चाडपर्वपछि आपसमा बसेर के सम्बोधन गर्न सकिन्छ गरौँला भन्ने आवश्वासन दिएको जानकारी दिए। मन्त्री पुनले वर्तमान सरकार निर्वाचन गराउने मुख्य दायित्वका साथ आएकाले धेरै अपेक्षा नगर्न पनि आग्रह गरेका हुन् ।

परिषद्का बागमती प्रदेश कमिटीका अध्यक्ष रामशरण फुयाँलले प्रत्येक सामुदायिक विद्यालयमा एक कम्प्युटर शिक्षकको दरबन्दी राख्न शिक्षामन्त्री पुनको हालैको निर्देशनलाई सकारात्मक मान्दै कम्प्युटरमा क्षमतावान लेखापाललाई नै उक्त दरबन्दीमा रुपान्तरण गर्न सकिने सुझाव मन्त्री पुनलाई दिइएको बताए। प्रदेश अध्यक्ष फुयाँलले त्यती रकमले कसरी ती कर्मचारीले परिवार पाल्ने भन्ने विषयमा गम्भीर भएर सोच्न मन्त्रालयलाई ध्यानाकर्षण गराइएको बताए ।

सर्वोच्च अदालतको २०६७ माघ २३ को आदेशमा कर्मचारीको सेवा, शर्त, सुविधा उल्लेख गरी सर्भिस ल बनाइ कार्यान्वयन गर्न उल्लेख गरिए पनि हाल विद्यालयका लेखापालले मासिक रु १५ हजार र कार्यालय सहायकले रु १० हजार पाउँदै आएका छन् । सङ्घीय संसदमा विचारधीन रहेको विद्यालय शिक्षा विधेकमा विद्यालय कर्मचारीलगायतका समस्या सम्बोधनको पहल गरिएको भए पनि प्रतिनिधिसभाको विघटन भएकाले अहिले कानुन बन्ने स्थिति छैन । रासस

 

 

शिक्षामन्त्री पुन आजदेखि मन्त्रालयमै बस्ने, सम्बन्धित निकायका प्रमुखसँग लिए ‘ब्रिफिङ’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आज (मंगलबार) देखि मन्त्रालयमै बस्ने भएका छन् । सोमबार शपथ लिएर पदभार ग्रहण गरेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन भनेका थिए । केशर महलमा नै बस्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । ‘कोठा भेटियो । आज बेलुकाबाट मन्त्री ज्यू मन्त्रालयमै बस्नु हुन्छ । एक सेट सुत्ने खाने व्यवस्था हुन्छ,’ मन्त्रालयका सहसचिव अनिता निरौलाले भनिन् ।

सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनमा जलाइपछि केशर महलबाट मन्त्रालयले सेवा प्रवाह गरिरहेको छ । यसैबीच मन्त्री पुनले मन्त्रालय र सम्बन्धित निकायका प्रमुखसँग मन्त्रालयका काम र आगामी प्राथमिकताका विषयमा ‘ब्रिफिङ’ लिएका छन् । केशरमहलस्थित मन्त्रालयमा सोमबार कार्यभार सम्हाल्लेका मन्त्री पुनले आज सचिवद्वय चूडामणि पौडेल र विश्वबाबु पुडासैनीलगायत महाशाखा प्रमुख र मातहत निकायका कामबारे जानकारी लिएका हुन् ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार उनले विज्ञान र प्रविधि क्षेत्रमा स्रोतसाधन वृद्धि गरी विद्यालयस्तरदेखि कम्प्युटर शिक्षालाई महत्व दिन निर्देशन दिए । मन्त्री पुनले पद बहालीका क्रममा विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चार वटा सल्लाहकार समिति गठनको कार्यादेश समावेश गरिएको प्रस्तावलाई स्वीकृत गरेका थिए ।

शिक्षामन्त्री पुन मन्त्रालयकै कोठामा बस्ने, आफै पकाएर खाने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन दिएका छन् । आज (सोमबार) पदभार ग्रहणपछि कर्मचारीहरूलाई निर्देशन दिँदै उनले सुत्ने खाट र खाना पकाउने व्यस्थापन गर्न भनेका हुन् ।

‘म जहाँ काम गर्छु, त्यहीँ बस्ने बानी छ । मन्त्रालयमै एउटा कोठा बनाउनुस्, खाट र कुर्सी चाहिन्छ । किचन भए पुग्छ, म आफै पकाएर खान्छु’, मन्त्री पुनले भने । उनले आफूलाई प्रहरी वा सेनाको सुरक्षा आवश्यक नपर्ने बताएका छन् । ‘अहिलेसम्म आएको सुरक्षा टोलीलाई कमाण्डरलाई रिपोर्ट गरेर फर्कन भनेको छु । मेरो अघिपछि आउनु पर्दैन’, पुनले भने । उनले मन्त्रालयको कामका लागि बाहिर जाँदा गाडी भने प्रयोग गर्ने बताएका छन् । ६ महिनाका लागि मन्त्री भएको बताउँदै उनले आफूले सकेको काम गर्ने प्रतिबद्धता जनाए ।

पुनले गरे पहिलो निर्णयमै हस्ताक्षर नगर्ने जिद्दी
नव नियुक्त शिक्षामन्त्री महावीर पुनले पदभारग्रहण गरेका छन् । केशरमहलमा तयार पारिएको शिक्षा मन्त्रालयमा गएर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि मन्त्रीलाई पहिलो निर्णयमा हस्ताक्षर गराउने प्रचलन छ । तर, मन्त्री पुनले पहिलो निर्णयमा हस्ताक्षर नै गर्न मानेनन् ।

मन्त्रालयले वैज्ञानिकहरूको एउटा समिति बनाउने निर्णयमा मन्त्रीको सही गराउन खोजेको थियो । तर, मन्त्री पुनले यस्ता समिति कति बन्छन् कति भनेर हस्ताक्षर नगर्ने जिद्दी लिए । त्यसपछि कर्मचारीहरूले यो प्रक्रियागत कुरा भएको भन्दै निकै बेर सम्झाएपछि उनी तयार भए । मन्त्री पुनले भने, ‘अहिले हस्ताक्षर चाँहि गर्छु, तर, यो निर्णयलाई पछि मेरो टिमले हेर्नुपर्छ ।’

 

शिक्षामन्त्री महावीर पुनले गरे पदभार ग्रहण (तस्वीरहरु)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो ।

उनीसहित आज अन्य तीन मन्त्रीले पनि पदभार ग्रहण गरेका हुन् । नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारमन्त्रीसँग कुरा गर्दै पुनले अपर्झट मन्त्री भएकाले अहिले नै धेरै नबोल्ने बताए ।

‘म शिवजी अथवा भगवान भए दिएको भए त्रिनेत्र लगाएर यसो यसो गर्छु भन्ने थिएँ, अब अपर्झट यहाँ आएर मन्त्री भइएको छ, सेवा सुविधा मलाई केही पनि चाहिन्न, म मन्त्रालयमा ओछ्यान लगाएर बस्ने हो,’ उनले भने ।
ठ्टयौली गर्दै नले भने, ‘मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाइ खाने, त्यहीँ सुत्ने ।’ मन्त्रीको जिम्मेवारीमा रहँदा प्राप्त हुने राम्रा सुझाव ग्रहण गरेर सकेसम्म छिटो कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।

मन्त्रालयको जिम्मेवारी अनुसार विज्ञान, प्रविधि, नवप्रवर्तन नै आफ्नो प्राथमिकता पर्ने उनले बताए । आफूले जिम्मेवारी पाएको मन्त्रालय शिक्षा क्षेत्रसँग पनि जोडिएको तर, शिक्षामा सुधार र परिवर्तनबारे अहिले नै नबोल्ने बताए । आफू मन्त्री बन्न नचाहेको तर, परिस्थितिले बनाएको उनले बताए ।

 

शपथपछि महावीर पुनको प्रतिक्रिया : मन्त्री बन्दिँन भनेको थिएँ बाध्यता आइपर्‍यो

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका महावीर पुनले आफू मन्त्री बन्दै नबन्ने भने पनि परिस्थितिका कारण मन्त्री बन्नुपर्ने बाध्यता आइपरेको बताएका छन् । शपथ ग्रहणपछि शितलनिवासमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले व्यवहारिक अनुसन्धान आफ्नो प्राथमिकता रहेको बताए । उनले विज्ञानका अलवा आफूले शिक्षाको जिम्मेवारी सम्हालेका कारण के–के बिषय प्राथामिकतामा राख्ने भनेर अहिले तत्कालै नभन्ने बताए ।

उनले आफूले राम्रो मान्छेको सुझाव मात्रै लिने पनि बताएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै उनले हरेक युवाले कुनै काम गर्दा कसैलाइ सोधेर वा कसैको पुच्छर बनेर काम नगरी आफ्नै बुद्धिले काम गर्नुपर्ने पनि बताएका छन् । शपथ अघि व्यंग्यात्क रूपमा मन्त्री पुनले आफूलाई ‘कवाडी वैज्ञानिक मन्त्री’ भनेर टिप्पणी गरेका छन् । उनको आविष्कार केन्द्र सँघुरो ठाउँमा कवाडी कारखाना जस्तो रहेको भनेर टिप्प्णी हुने गरेकाले उनले पनि व्यंग्यात्मक ढंगमा भनेका हुन् । ‘मलाई कसैले पनि मन्त्री नभन्नु होला । कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला,’ उनले भनेका छन् ।

मन्त्री पुनले ५ महिनाभित्र गर्न सकिने ठोस काम र आइडिया मागेका छन् । ‘कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला,’ उनले भने । यो सरकार चुनाव गराउने अन्तरिम सरकार भएकाले उनले ५ महिनामा गर्न सकिने कामको योजना मात्र मागेका हुन् ।

सरल जीवनशैली भएका पुन मन्त्रीमा सिफारिस हुँदै गर्दा पनि आविष्कार केन्द्रमा ग्यासबाट शव जलाउने भट्टी निर्माण भएको जानकारी गराउँदै थिए । दुई दिनअघि काठमाडौं आएका पुन आविष्कारका लागि आर्थिक जुटाउन जिल्ला जिल्लामा किताब बेच्न हिँडिरहेका थिए । आफ्नै पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बोकेर उनले ५२६ दिनमा ४५ वटा जिल्लामा २ लाख ४० हजार पुस्तक बेचेका छन् ।

पुनको आग्रह: मलाई मन्त्री नभन्नुहोला, भन्न रहर लागे ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्नू

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनले आज (सोमबार) बिहान सामाजिक सञ्जालमार्फत  बधाई छ भनेर फोन नगर्न र खादामाला लिएर नआउन अनुरोध गरेका हुन्। साथै उनले आफूलाई मन्त्री नभन्न पनि आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्,  कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा-माला लिएर नआउनुहोला’, , ‘बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिनाभित्र गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नुहोला। कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने ‘कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला।’

मन्त्री बन्दै महावीर पुन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा वैज्ञानिक डा. महावीर पुन पनि रहने भएका छन् । प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन् । पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको छ । तर अहिले शिक्षा पनि विज्ञान तथा प्रविधि मन्त्रालयसँगै छ ।

शिक्षा मन्त्रालयको समेत समेत जिम्मेवारी दिने कि विज्ञान तथा प्रविधिको मात्र जिम्मा दिने भन्ने प्रष्ट भइनसकेको स्रोतले जनाएको छ । पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए । यस्तै मन्त्रिपरिषदमा एक जना दलित समुदायको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको छ ।

हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्र काम गरिरहेको छ । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री कार्कीका साथै अन्य मन्त्रीहरूले पनि गृहकार्य गरिरहेका छन् । खासगरी गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल यसमा बढी खटिएका छन् । कार्की भदौ २७ गते जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी थिइन्। गएको आइतबार तीन मन्त्री नियुक्त गरी पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो ।