`

शिक्षामन्त्री पुन आजदेखि मन्त्रालयमै बस्ने, सम्बन्धित निकायका प्रमुखसँग लिए ‘ब्रिफिङ’

Nepal One HD ७ असोज २०८२ १७:५८
शिक्षा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आज (मंगलबार) देखि मन्त्रालयमै बस्ने भएका छन् । सोमबार शपथ लिएर पदभार ग्रहण गरेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन भनेका थिए । केशर महलमा नै बस्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । ‘कोठा भेटियो । आज बेलुकाबाट मन्त्री ज्यू मन्त्रालयमै बस्नु हुन्छ । एक सेट सुत्ने खाने व्यवस्था हुन्छ,’ मन्त्रालयका सहसचिव अनिता निरौलाले भनिन् ।

सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनमा जलाइपछि केशर महलबाट मन्त्रालयले सेवा प्रवाह गरिरहेको छ । यसैबीच मन्त्री पुनले मन्त्रालय र सम्बन्धित निकायका प्रमुखसँग मन्त्रालयका काम र आगामी प्राथमिकताका विषयमा ‘ब्रिफिङ’ लिएका छन् । केशरमहलस्थित मन्त्रालयमा सोमबार कार्यभार सम्हाल्लेका मन्त्री पुनले आज सचिवद्वय चूडामणि पौडेल र विश्वबाबु पुडासैनीलगायत महाशाखा प्रमुख र मातहत निकायका कामबारे जानकारी लिएका हुन् ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार उनले विज्ञान र प्रविधि क्षेत्रमा स्रोतसाधन वृद्धि गरी विद्यालयस्तरदेखि कम्प्युटर शिक्षालाई महत्व दिन निर्देशन दिए । मन्त्री पुनले पद बहालीका क्रममा विज्ञान र प्रविधि क्षेत्रमा मन्त्रालयलाई सुझाव दिन विभिन्न चार वटा सल्लाहकार समिति गठनको कार्यादेश समावेश गरिएको प्रस्तावलाई स्वीकृत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *