शिक्षामन्त्री महावीर पुनले गरे पदभार ग्रहण (तस्वीरहरु)


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो ।
उनीसहित आज अन्य तीन मन्त्रीले पनि पदभार ग्रहण गरेका हुन् । नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विज्ञहरूसँग सुझाव लिएर अघि बढ्ने बताएका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्री पदको शपथ लिएपछि सञ्चारमन्त्रीसँग कुरा गर्दै पुनले अपर्झट मन्त्री भएकाले अहिले नै धेरै नबोल्ने बताए ।
‘म शिवजी अथवा भगवान भए दिएको भए त्रिनेत्र लगाएर यसो यसो गर्छु भन्ने थिएँ, अब अपर्झट यहाँ आएर मन्त्री भइएको छ, सेवा सुविधा मलाई केही पनि चाहिन्न, म मन्त्रालयमा ओछ्यान लगाएर बस्ने हो,’ उनले भने ।
ठ्टयौली गर्दै नले भने, ‘मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाइ खाने, त्यहीँ सुत्ने ।’ मन्त्रीको जिम्मेवारीमा रहँदा प्राप्त हुने राम्रा सुझाव ग्रहण गरेर सकेसम्म छिटो कार्यान्वयनमा लैजाने उनको भनाइ छ ।
मन्त्रालयको जिम्मेवारी अनुसार विज्ञान, प्रविधि, नवप्रवर्तन नै आफ्नो प्राथमिकता पर्ने उनले बताए । आफूले जिम्मेवारी पाएको मन्त्रालय शिक्षा क्षेत्रसँग पनि जोडिएको तर, शिक्षामा सुधार र परिवर्तनबारे अहिले नै नबोल्ने बताए । आफू मन्त्री बन्न नचाहेको तर, परिस्थितिले बनाएको उनले बताए ।