मन्त्री बन्दै महावीर पुन


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा वैज्ञानिक डा. महावीर पुन पनि रहने भएका छन् । प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन् । पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको छ । तर अहिले शिक्षा पनि विज्ञान तथा प्रविधि मन्त्रालयसँगै छ ।
शिक्षा मन्त्रालयको समेत समेत जिम्मेवारी दिने कि विज्ञान तथा प्रविधिको मात्र जिम्मा दिने भन्ने प्रष्ट भइनसकेको स्रोतले जनाएको छ । पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए । यस्तै मन्त्रिपरिषदमा एक जना दलित समुदायको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको छ ।
हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्र काम गरिरहेको छ । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री कार्कीका साथै अन्य मन्त्रीहरूले पनि गृहकार्य गरिरहेका छन् । खासगरी गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल यसमा बढी खटिएका छन् । कार्की भदौ २७ गते जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी थिइन्। गएको आइतबार तीन मन्त्री नियुक्त गरी पहिलो मन्त्रिपरिषद् बैठक बसेको थियो ।