`

जेनजीलाई गुटबन्दी नगर्न मन्त्री पुनको आग्रह, सुनाए रणबहादुर शाहकालीन इतिहास

Nepal One HD २६ असोज २०८२ ८:५२
प्रमुख खबर

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजीसहित राष्ट्रलाई माया गर्ने सम्पूर्ण नेपालीलाई खुट्टा तानातान र गुटबन्दी नगर्न आग्रह गरेका छन् ।

रणबहादुर शाहपालादेखिका इतिहास सुनाउँदै मन्त्री पुनले एकआपसमा झगडा गर्दा देशलाई फाइदा होइन, नोक्सान मात्रै हुने कुरामा सचेत गराएका छन् ।

‘राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा होइन नि, झनै धेरै नोक्सान हुन्छ’, मन्त्री पुनले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले अहिलेको परिप्रेक्ष्यमा देश विकास र सार्वभौमसत्ताको रक्षाको लागि गुटबन्दी नगरौँ भन्ने मेरो अनुरोध जेनजीसहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरूलाई अनुरोध छ । गुटबन्दी र खुट्टा तानातान गर्‍याे भने कसलाई फाइदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पानाबाट पनि सिकौं ।’

१) नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातान गीर्वाण युद्धविक्रम र राजेन्द्रविक्रम शाहको पालासम्म आइपुग्दा चरम विन्दुमा पुगिसकेको थियो । त्यसैको परिणामस्वरूप नेपाली जनताले १०४ वर्षसम्म निरकुंश राणातन्त्र बेहोर्नुपर्‍यो ।

२) राणातन्त्र सुरु भएपछि प्रधानमन्त्री वीरशमशेरकै पालादेखि गुटबन्दी सुरु भयो । उनीहरूले राणा खलकलाई नै क वर्ग, ख वर्ग, ग वर्गमा वर्गीकरण गरेर गुटबन्दी सुरु गरे र एउटा गुटले अर्को गुटको खुट्टा तानातान गरे । त्यसरी उनीहरू कमजोर भएर २००७ सालमा जनक्रान्तिद्वारा हटाइए ।

३) २००७ सालमा प्रजातन्त्रको घोषणा भए पनि २०१५ सालसम्म संसदीय चुनाव हुन सकेन । त्यसको खास कारण त्यतिबेला जन्मेका र जन्मँदै गरेका राजनैतिक दलहरूको बीचमा खुट्टा तानातान भयो । फलस्वरूप राजा महेन्द्रले चुनाव नगराउन आलटाल गर्ने आधार पाए । अनि धेरै नै ढिलो भए पनि २०१५ सालमा आम चुनाव गरेर गठन भएको बहुमतको सरकारलाई विघटन गरेर पञ्चायती व्यवस्था ल्याउने अवसर पाए । त्यो अवसरको सिर्जना त्यति बेलाको राजतैनिक समूहबीचको गुटबन्दी र खुट्टा तानातानको प्रवृत्तिले सिर्जना गरेको थियो ।

४) २०१७ सालदेखि २०४६ सालसम्मको इतिहास हेर्ने हो भने पञ्चायती शासनभित्र राजनैतिक दलहरू नभए पनि विभिन्न गुटहरू थिए । सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुट जस्ता धेरै गुटहरू थिए र आपसमा खुट्टा तानातान गर्थे । अनि राज खलकभित्र पनि भूमिगत गिरोह भनेर चिनिने गुटहरू थिए र राजा वीरेन्द्रको कदमलाई असफल पार्ने चालबाजी खेल्थे । त्यही कारणले गर्दा पञ्चायती व्यवस्था कमजोर भयो र २०४६ सालको आन्दोलनमा ढल्यो ।

५) २०४६ सालदेखि २०८२ सालको अचानक विष्फोटन भएको जेनजी आन्दोलन सुरु भएको दिनसम्मको इतिहास निष्पक्ष भएर विश्लेषण गरौं र गर्नुहोस् । लोकतन्त्र आएपछि जेनजी आन्दोलन सुरु हुँदासम्म राजनैतिक पार्टीहरूबीच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई थाहा छ । त्यसैको परिणामस्वरूप जेनजीहरू र आम जनताहरू मिलेर विष्फोटनस्वरूप आन्दोलन गरेको हो । आन्दोलन जेनजीहरूले सुरुवात गरेको भए पनि आम जनताले सहयोग गरेका छन् । किनभने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्बाद भएको देख्न नसकेर चरम आक्रोशित भएका थिए ।

६) यो माथिको इतिहास हेरेर जेन–जीहरुले पाठ सिक्न अनुरोध छ । तपाईंहरू भनेको एउटा निश्चित उमेरको युवाहरूको समूह हो । तपाईंहरूको राजनीतिक संगठन छैन । तपाईंहरूले देशमा सुशासन ल्याउन चाहनु हुन्छ र भ्रष्टाचार निर्मूल पार्न चाहनु हुन्छ । अनि तपाईंहरूले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ । यो सपना पूरा गर्नका लागि तपाईंहरूमा एकताको अत्यन्तै खाँचो देखेको छु । किनभने तपाईंहरूबीचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुँदैछ । मातृभूमिको अस्तित्वका लागि म विनम्र अनुरोध गर्दछु कि नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्‍याउनु होस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *