ठूला भ्रष्टाचारमा जोडिएको भन्दै जेनजीले मागे अख्तियार प्रमुख राईको राजीनामा


काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ । जेनजी आन्दोलन भ्रष्टाचारविरुद्धको अभियान समेत रहेकाले त्यसमा सहयोग गर्न प्रमुख आयुक्तसहित सम्पूर्ण आयुक्तको राजीनामा मागिएको हो ।
समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भदौ २३ गतेदेखि सुरु गरिएको हाम्रो आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो । तर, अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएको कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन् ।’
अलायन्सकाअनुसार आयोगका प्रमुख र अन्य आयुक्तहरूको नियुक्ति पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ विना गरेको र त्यसले आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि प्रश्न उठाएको आरोप उनीमाथि छ । जेनजी मुभमेन्ट अलायन्सले विशेष अदालतको हालसालैको निर्णयलाई समेत उद्धृत गर्दै आयोगको अभियोजन प्रणाली र प्रमुख आयुक्तको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको दाबी गरेको छ ।
अदालतको निर्णयमा प्रमुख आयुक्त राईको ‘स्वार्थ द्वन्द्व र चयनात्मक अभियोजन’ सम्बन्धी टिप्पणी उल्लेख भएपछि उनीहरूको राजीनामा माग झनै बलियो बनेको समूहको तर्क छ ।
विज्ञप्तिमा राईको संलग्नता देखिएका ठूला मुद्दाहरू पनि समेटिएका छन् । तीमध्ये नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई आयोगको प्रमुखको संलग्नतासँग जोड्दै उनीमाथि नैतिक जिम्मेवारी लिने माग गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘यी घटनाहरूमा प्रत्यक्ष वा नियामक हैसियतमा संलग्न रहेकाले प्रमुख आयुक्तको नैतिक जिम्मेवारी बनेको छ । अतः तत्काल राजीनामा दिनु नै अख्तियारको गरिमा र विश्वास पुनःस्थापना गर्ने बाटो हो ।’
विज्ञप्तिमा अहिले संघीय संसद् नहुँदा महाअभियोग प्रक्रियामार्फत पदमुक्त गर्न सम्भव नभएकाले राजीनामाबाटै पद रिक्त गर्नुपर्ने उल्लेख गरिएको छ । साथै, गठित अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत निष्पक्ष नियुक्ति समिति गठन गरी नयाँ आयुक्तहरू नियुक्त गर्न पनि आग्रह गरिएको छ । यसरी सार्वजनिक रुपमा अख्तियार प्रमुख राईलाई अनुरोध गरेको यो समूहले उनलाई व्यक्तिगत रुपमा इमेल गरेको जनाएको छ । जेनजी मुभमेन्ट अलायन्समा ३९ वटा जिल्ला प्रतिनिधित्व गर्ने १२ वटा जेनजी समूह छन् ।