प्रधानमन्त्री निवास र अख्तियारमा कमाण्डो टोली तैनाथ


काठमाडौं । जेन–जी समूहद्वारा दिइएको धम्कीपछि राजधानी काठमाडौंका प्रमुख संवेदनशील क्षेत्रहरूमा सोमबार रातिदेखि सुरक्षा सतर्कता उच्च बनाइएको छ । सुरक्षा चुनौतीको सम्भावनालाई ध्यानमा राख्दै आज (मंगलबार) बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा विशेष प्रहरी कमाण्डो टोली परिचालन गरिएको हो ।
बिहान ७ बजेदेखि नै ‘छनोट गरिएका’ प्रहरी अधिकृतहरूलाई रणनीतिक स्थानहरूमा खटाइएको प्रहरी स्रोतले जनाएको छ । भिडभाड बढेमा वा कुनै किसिमको सुरक्षा चुनौती उत्पन्न भएमा बल प्रयोग गर्ने तयारीसहित सुरक्षा टोली तैनाथ गरिएको छ ।
सुरक्षा रणनीतिमा कडाइ
प्रहरीका एक वरिष्ठ कमाण्डो अधिकारीका अनुसार सम्भावित भिड नियन्त्रणका लागि टोलीलाई प्रारम्भिक चेतावनी दिने, आवश्यक परे बल प्रयोग गर्ने अधिकार दिइएको छ । राजधानीमा शान्ति–सुरक्षाको अवस्था नियन्त्रण बाहिर जान नदिन सरकारले उच्चस्तरीय सुरक्षा रणनीति अपनाएको देखिन्छ ।
प्रधानमन्त्री, गृहमन्त्री र आईजीबीच राति बैठक
सोमबार राति प्रधानमन्त्री निवासमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक (आईजी) चन्द्रकुवेर खापुङबीच सुरक्षा स्थितिबारे सोमबार राति उच्चस्तरीय छलफल भएको थियो । बैठकमा आईजी खापुङले जेन–जी समूहले प्रहरी मुख्यालयमै आएर धम्की दिएकोप्रति गम्भीर आपत्ति जनाएका थिए । प्रधानमन्त्री कार्कीले प्रहरीको मनोबल खस्किने कार्य स्वीकार्य नहुने स्पष्ट रूपमा बताएको जनाइएको छ ।
सुधन गुरुङको नेतृत्वमा सरकारविरुद्ध कडा दबाब
यसैबीच, ‘हामी नेपाल’ नामक समूहका संस्थापक सुधन गुरुङ नेतृत्वको टोलीले हिजो पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी लिएर प्रहरीमा उपस्थित भएको थियो । तर प्रहरी पक्षले भदौ २३–२४ को घटनाको छानबिन जाँचबुझ आयोगमार्फत भइरहेको भन्दै जाहेरी लिन अस्वीकार गरेको थियो । यो अस्वीकृतिपछि गुरुङको समूह ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै आन्दोलनको तयारीमा उत्रिएको छ ।