विपिन जोशीको अवस्थाबारे ठोस जानकारी केहि छैन : राजदूत पण्डित


काठमाडौं । इजरायल–हमास युद्धविराम भए पनि गत वर्ष हमासको आक्रमणमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्थाबारे अझै स्पष्ट जानकारी आइसकेको छैन । इजरायलमा रहेका नेपालका राजदूत धनप्रसाद पण्डितले विपिनको अवस्थाबारे इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् तर ठोस सूचनाको अभाव रहेको बताएका छन् ।
राजदूत पण्डितका अनुसार विगत केही दिनयता विपिनबारे अनेक चर्चा भए पनि उनको जीवित वा मृत अवस्थाको पुष्टि गर्ने कुनै जानकारी आएको छैन । ‘विपिनको बारेमा धेरैले सोधिरहनु भएको छ, तर उनको जीवनबारे अहिलेसम्म केही जानकारी छैन’, उनले भने ।
परराष्ट्र मन्त्रालयका एक कर्मचारीका अनुसार इजरायली पक्षबाट ‘जुनसुकै अवस्थाको सूचना आउन सक्छ’ भन्ने संकेत आएको छ । ‘त्यसैले परिवारलाई तयार रहन भनिएको छ’, मन्त्रालय स्रोतले जानकारी दियो ।
बेपत्ता विपिनको पुरानो भिडियो फेरि सार्वजनिक
कञ्चनपुरका विपिन जोशी गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएको अनुमान छ । उक्त आक्रमणमा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । विपिन भने त्यसपछि सम्पर्कविहीन छन् । बुधबार साँझ सार्वजनिक गरिएको ३३ सेकेण्डको एक पुरानो भिडियोमा विपिनले आफ्नो नाम र नेपाली नागरिक भएको पुष्टि गर्दै ‘अर्न एण्ड लर्न’ कार्यक्रम अन्तर्गत इजरायल आएको बताएका छन् ।
उनले गाढा निलो कपडा लगाएको देखिएको उक्त भिडियो कहिले र कहाँ खिचिएको हो भन्ने पुष्टि हुन सकेको छैन । राजदूत पण्डितका अनुसार सो भिडियो नोभेम्बर १७, २०२३ तिर गाजास्थित अल शिफा अस्पतालमा खिचिएको हुनसक्छ । त्यसपछि भने विपिनको अवस्था पूर्णतः अज्ञात रहँदै आएको छ ।