मुलुकमा थप मुठभेड हुन नदिन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका चार बुँदे सुझाव


काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनको गम्भीर आत्मसमीक्षा गर्दै मुलुकमा थप मुठभेड हुन नदिन आह्वान गरेका छन् । त्यसका निम्ति उनले चार बुँदामा सुझाव पनि दिएका छन् ।
डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ऐतिहासिक जेनजी विद्रोहको महिना दिन पूरा हुँदा सबैले गम्भीर आत्मसमीक्षा गर्दै थप मुठभेड र विग्रह हैन, अग्रगामी रूपान्तरण सहितको दिगो शान्ति र समृद्धिको मार्ग प्रशस्त गरौं ।
हेर्नुस् भट्टराईका सुझावहरु
–जेन–जी विद्रोह पुराना दल र नेतृत्व, मुख्यतः गत दश बर्षमा पालैपालो सरकारको नेतृत्व गर्ने तीन दलका तीन टाउका, –को चरम सत्तालिप्सा,कुशासन र भ्रष्टाचारले युवाहरू र आम जनतामा ल्याएको आक्रोशको परिणाम हो भन्ने तथ्यलाई आत्मसात गरौं ।
– देशभित्र आम जनतामा असन्तुष्टी छाउँदा, राज्यका सबै अंगहरूको दलीयकरण र क्षयीकरण हुँदा, अकस्मात् जनविद्रोह बिष्फोटित हुँदा कति भयावह स्थिति उत्पन्न हुँदो रहेछ र संवेदनशील भूराजनीति क्रियाशील हुँदो रहेछ भन्ने दरोसंग बुझौं ।
– लोकतन्त्रमा राजनीतिक दलहरू नै राज्यका प्रमुख खम्बा र सुशासन तथा समृद्धिका वाहक हुनाले पुराना दलहरूको रूपान्तरण सहित पुस्तान्तरण र नयाँ तथा वैकल्पिक शक्तिहरूको बृहद ध्रुवीकरण÷मोर्चावन्दीमार्फत देशलाई पुनर्निर्माण र नवनिर्माणको द्रुतमार्गमा डोर्याऊँ ।
–तत्काल विद्रोहका नायक जेन–जी युवाहरूका जायज मागहरू (आन्दोलनमाथि हिंस्रक दमन गर्नेहरू र ठूला भ्रष्टाचारीहरूमाथि तुरून्त कार्वाही, जेन–जी युवाहरू उम्मेदवार बन्न पाउने गरी न्यूनतम उमेरको हद २५ बर्षबाट २१ बर्ष कायम, विदेशबाट मतदानको व्यवस्था आदि ) पूरा गरेर तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गरौं ।
स्मरण रहोस्, जसले अझै हठ गरेर देशलाई थप द्वन्द्वको दिशामा धकेल्ने धृष्टता गर्छ र देशको स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्तन्त्रलाई नै धरापमा पार्ने कुकृत्य गर्छ उसलाई नेपाली इतिहासले कहिल्यै क्षमा गर्ने छैन ।