`

जेनजीका नाममा लिइयो भोटेकोशीको १९ करोड बराबरको शेयर, के छ सम्झौतामा ?

Nepal One HD २७ असोज २०८२ १०:४७
अर्थ समाचार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको एक समूहले जेनजीका नाममा ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत शेयर लिएको छ । उनीहरूलाई प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत शेयर दिने सम्झौता भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विक्रम स्थापितले जनाएका छन् ।

जेनजी आन्दोलनपछि भोटेकोशी गाउँपालिकाको एक स्थानीय समूहले जेन–जी ग्रुपका नाममा १० प्रतिशत निःशुल्क शेयर मागेर भदौ २५ गतेदेखि आयोजना सञ्चालन गर्न दिएको थिएन । आयोजना लामो समयदेखि बन्द हुँदा मर्का परेका कारण त्यहाँका स्थानीयलाई दिने सम्झौता भएको ६ प्रतिशत शेयरमा ४ प्रतिशत थप गरी १० प्रतिशत शेयर स्थानीय जेनजी समूहलाई दिने सम्झौता गरिएको सिइओ स्थापितले बताए ।

‘यो आयोजना स्थापना हुँदा स्थानीयलाई शेयर दिनुपर्ने प्रावधान थिएन । २०७१ सालमा स्थानीयले आन्दोलन गरेर शेयर मागेपछि ६ प्रतिशत शेयर दिने सम्झौता भएको थियो । तर स्थानीयले कम्पनी स्थापना नगरेकाले आयोजनाले शेयर दिएको थिएन । त्यो ६ प्रतिशत शेयरमा ४ प्रतिशत थपेर अहिलेको जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडलाई दिएका हौं,’ उनले सुनाए । स्थापितका अनुसार यो सेयरका लागि जेनजी कम्पनीले बैंकबाट ऋण लिनेछ । यसरी लिने ऋणको जमानीको व्यवस्था भने आयोजनाले गर्ने सहमति भएको हो । शेयर पाउने पक्का भएपछि उक्त समूहले आयोजना सञ्चालन गर्न दिएको छ ।

यसअघि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृहमन्त्री र ऊर्जामन्त्री गुहारेको थियो । दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समय निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरूमा सरकारको नीति र कानुनविपरीत १० प्रतिशत निःशुल्क शेयर माग्ने तथा ती आयोजनामा अवरोध गर्ने कार्य बढेकाले सरकारसँग सुरक्षा माग गरेका थिए ।
हेर्नुस् सझौता


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *