`

इजरायली अधिकारीहरुले भने–विपिन जोशी जीवित छैनन्

Nepal One HD २७ असोज २०८२ ११:४१
प्रमुख खबर

काठमाडौं । इजराइली डिफेन्स फोर्स (आइडिएफ) ले नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको छ । केहीबेर अघि विपिनको परिवार तथा इजरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इजरायली सरकारले यो जानकारी दिएको इजराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जनाएका छन् ।

‘आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो,’ राजदूत धनप्रसाद पण्डितले सुनाए, ‘परिवारकै सामु आइडिएफले यो जानकारी दिएको छ ।’ राजदूत पण्डितका अनुसार इजरायली डिफेन्स फोर्सका अधिकारीहरुले हमासले जीवित बन्धकहरुलाई केहीबेरमा छोड्ने जानकारी दिएका छन् । मृतकमध्ये केहीको शव भेटिएको छैन ।

भिडिओ कुराकानीमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा अमेरिकाबाट जोडिएका थिए । परिवारका सदस्य किशोर जोशी, राजदूत पण्डित र इजराइली डिफेन्स फोर्सका अधिकारी उक्त भिडिओ कुराकानीमा सहभागी थिए । परराष्ट्र मन्त्रालयले भने इजरायलको आइडिएफले पनि आंकलन मात्र गरेको हुन सक्ने बताएको छ ।

‘आइडिएफको पनि आंकलन मात्र हो । अझै यो मान्छे, त्यो मान्छे भन्ने अवस्था छैन, विगतमा आइडिएफले भनेका मानिसहरुबारे पनि फरक विवरण आएको थियो’, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, ‘अन्तिम घडीसम्म हामी उहाँ सकुशल रिहा हुनुहुन्छ भन्नेमा उत्साही र आशावादी छौं ।’ हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो । उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडयो सार्वजनिक भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *