`

विपिनका दाइ किशोर भन्छन्–हमासले छाड्ने अझै बाँकी छन्, भाइ आउँछ भन्ने आशा छ

Nepal One HD २७ असोज २०८२ १४:२६
प्रमुख खबर

कञ्चनपुर । इजरायल र हमासबीच युद्धविरामपछि आजदेखि बन्दीहरु रिहाइ गर्ने काम सुरु भइरहेको छ । तर रिहाइ हुने बन्दीमा कञ्चनपुरका विपिन जोशीको नाम भने छैन । रिहाइ हुने बन्दीमा विपिनको नाम समावेश नभए पनि उनको परिवार भने आशावादी रहेको छ ।

‘आज छुट्ने नामावलीमा नाम छैन भनेर हामीलाई जानकारी आएको छ तर अन्तिम अवस्थासम्म पनि हामी भने पूर्ण आशावादी छौं,’ विपिनका दाइ किशोर जोशीले भने, ‘आज २० जना रिहाइ भइरहेका छन्, सबै रिहाइ हुन बाँकी छ, त्यति निराश भइहाल्नु पर्ने ठाउँ छैन ।’

हमासले बन्धकहरु छोड्न अझै पनि बाँकी रहेकाले अहिले नै आश मार्न नसकिने दाजु किशोर बताउँछन् । ‘युद्धविराम क्रममा आज बन्धकहरु रिहा भइरहेका छन् । बिहान इजरायलसँग पनि कुरा भयो हमासले आधिकारिक रुपमा छोड्नेमा अझै मान्छेहरु बाँकी छन्,’ दाजु किशोरले कञ्चनपुरस्थित निवासमा भने, ‘त्यसैले हामीलाई अझै आशा बाँकी छ । भाइ आउँछ भन्ने आशा छ । निराश हुनुपर्ने ठाउँ छैन ।’

उनका अनुसार सोमबार बिहान इजरायलको युद्धबन्दी सम्बन्धी मामिला हेर्ने एक कर्मचारीले उनलाई फोन सम्पर्क गरेका थिए । उनले नै रिहाइ हुने बन्दीमा विपिनको नाम समावेश नभएको जानकारी दिएका थिए । ‘सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा विपिन जीवित नरहेको खबर आइरहेको छ, यसले हामीलाई पीडा दिइरहेको छ,’ उनले भने, ‘मलाई पूर्ण विश्वास भाइ ठीक छ ।’

दुई वर्षअघि अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायमा अध्ययनरत विपिन इजरायल पुगेका थिए । हमास समूहको आक्रमणमा पनि १० जना विद्यार्थीको मृत्यु भएको थियो भने विपिनसहित २५१ जना अपहरणमा परेका थिए । हमासले बन्धक बनाएकामध्ये विपिन छुट्न बाँकी ४८ मध्ये विपिन एक्ला विदेशी नागरिक हुन् । विपिनको रिहाइका लागि पहल गर्न आमा पद्मा र बहिनी पुष्पा हाल अमेरिकामा छन् । यसअघि उनीहरु साउन अन्तिम साता इजरायल समेत गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *