इजरायली पूर्व राजदूत गोदारले फोटो शेयर गर्दै लेखे-विपिन देशको उज्यालो भविष्य थिए
काठमाडौं । नेपालका लागि इजरायलका पूर्व राजदूत हानान गोदारले हमासको आक्रमणमा मारिएका नेपाली युवा विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सामाजिक सञ्जालमार्फत गोदारले विपिनलाई ‘ऊर्जावान र क्षमतावान युवा’ भन्दै सधैं सम्झिरहने बताएका छन् ।
गोदारले ‘लर्न एण्ड अर्न’ कार्यक्रममा सहभागी भएर इजरायल जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विपिनलाई बिदाइ गर्दाको तस्वीर शेयर गर्दै लेखेका छन्, ‘दुई वर्षको आशा आज अन्त्य भयो ।’
पूर्व राजदूत गोदारका अनुसार विपिन एक होनहार विद्यार्थी थिए जसले आफ्नो परिवार, समुदाय र देशका लागि केही उल्लेखनीय काम गर्ने सपना देखेका थिए । उनले थप लेखेका छन्, ‘उनी शान्तिको प्रतीक थिए । सधैं सम्झिरहनेछु ।’
यसअघि हमासको इजरायलस्थित किवुत्ज क्षेत्रमा भएको आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका थिए भने विपिन जोशी वेपत्ता भएका थिए । हालै हमासले एक शव इजरायललाई हस्तान्तरण गरेको र त्यसैलाई विपिनको हुनसक्ने अनुमान गरिएको छ । डिएनए परीक्षणपछि मात्रै शव पुष्टि भई परिवारलाई हस्तान्तरण गरिने नेपाली राजदूतावास, इजरायलले जानकारी दिएको छ ।
