विपिन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए


महेन्द्रनगर । यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुशीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले जब एक साताअघि मात्रै उनी जीवित नरहेको खबर प्राप्त गरे । त्यसपछि परिवारसहित सिङ्गो देश शोकमा डुब्यो । हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको आज बिहान महाकाली नदीस्थित भुजेला घाटमा अन्त्येष्टि गरियो ।
जोशीको पार्थिव शरीरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । त्यसपछि सशस्त्र प्रहरी बलको एक टुकडीले विपिनलाई सलामी अर्पण ग¥यो । इजरायलले उल्लेख गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार इजरायल– हमास युद्धमा हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपिनको हत्या गरिएको जनाइएको छ । विपिन जीवित नरहेकोबारे जानकारी गत असोजको अन्तिम साता मात्रै हमासले सार्वजनिक गरेको थियो ।
कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा विपीनलगायतका नेपाली विद्यार्थीको टोली इजरायल पुगेका थिए । सोही क्रममा हमासको आक्रमणसँगै विपिनलाई हमासले अपहरण गरी लगेका थिए । विपिनको खोजीका लागि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा दबाब बढाइए पनि अन्ततः विपिन जीवित नभएको हमासले बताएको थियो ।
विभिन्न प्रक्रिया पुरा गरी सोमबार दिउँसो काठमाडौँ ल्याइएको विपिनको शव साँझ अबेरमा महेन्द्रनगरस्थित घरमा पु¥याइएको थियो । भुजेलाघाटमा बुवा महानन्द जोशी र ठुलोबुवा रामदत्त जोशीले दागबत्ती दिए । नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेलाघाटमै पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै इजरायली झण्डा विपिनको शवमा ओढाए ।
राजदूत नेतृत्वको टोली शवसँगै काठमाडौँबाट विपिनको अन्त्येष्टीसम्म सहभागी भयो । विपिनको काजक्रिया ठुलाबुवा रामदत्त जोशीले गरिरहेको परिवारजनको भनाइ छ । शवयात्रामा जनप्रतिनिधि, इजरायली राजदूतसहितको टोली, विपिनका इष्टमित्र, आफन्तजन र सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।