खगेन्द्र सुनारलाई धरौटीमा छोड्न काभ्रे अदालतको आदेश
काभ्रेपलाञ्चोक । दलित अभियन्ता खगेन्द्र सुनुवारलाई धरौटीमा छाड्न जिल्ला अदालत काभ्रेपलाञ्चोकले आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड़ने आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।
अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको थियो । सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरू महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, बाल्मिकी आउजी, नारायण बुढ़ापृथी, गणेश बराइली, रामबहादुर मिजारले बहस गरेका थिए ।
सरकारवादी मुद्दा भएकाले अधिवक्ता मनिषा गौतमको तर्फवाट सरकारी वकील कार्यालयका सहायक न्याधिवक्ता निष्ठा कर्माचार्यले बहस गरेको अदालतले जनाएको छ । सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन् । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकोले ब्यूरोले उक्त मुद्धालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो । उनको मुद्दा जिल्ला अदालतमा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो ।
त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो । अदालतका श्रेस्तेदार कार्कीका अनुसार गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो । पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार हुँदा सुनारको नामसमेत सिफारिस भएको थियो । उनीमाथि यही मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो ।
