`

प्रधानमन्त्री भेट्न सिंहदरबार पुगे खगेन्द्र, मागे माफी

काठमाडौं । ‘हाम्रो पार्टी नेपाल’ का अध्यक्ष खगेन्द्र सुनारले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो कारणले आलोचना खेप्नु परेको भन्दै माफी मागेका छन् । अध्यक्ष सुनारसँगै हाम्रो पार्टी नेपालको टोली शुक्रबार प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार पुगेको थियो । भेटका क्रममा प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनु पर्ने बताइन् ।

प्रधानमन्त्री कार्कीले समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि सुझाव दिइन् । सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व कसरी हुनसक्छ भनेर आफूले पनि प्रयास गर्ने बताइन् ।

हाम्रो पार्टी नेपालका अध्यक्ष सुनार नेतृत्वको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्थाका लागि आग्रह गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेकाले दलित समुदायको उचित प्रतिनिधि हुन नसकेकोबारे आफ्नो मत प्रधानमन्त्रीलाई राखेको अध्यक्ष सुनारले बताए । यसअघि आफ्नो निजी कारणले प्रधानमन्त्रीले आलोचना खेप्नुपरेको भन्दै अध्यक्ष सुनारले क्षमायाचना समेत गरेका थिए । उनले विषम परिस्थितिमा मुलुक सम्हाल्न अगाडि सरेकामा प्रधानमन्त्री कार्कीप्रति आभार पनि व्यक्त गरेका छन् ।

 

साम्प्रदायिक विभाजनबाट देश बचाउन पार्टी खोल्यौं : खगेन्द्र सुनार

काठमाडौं । ‘हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले देशमा बढ्दो साम्प्रदायिक विभाजन रोक्न आफ्नो पार्टी वैकल्पिक शक्ति रूपमा सिर्जना गरिएको बताएका छन् । उनले सोमबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुरा गर्दै स्थापित दलहरू व्यक्ति–केन्द्रित बन्दै गएको आरोप लगाउँदै नयाँ पार्टी सबैका लागि ‘साझा राजनीतिक घर’ बन्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सुनारका अनुसार परम्परागत ठूला दलहरू व्यक्तिको नामसँग जोडिँदै गएपछि सर्वसाधारणले अपनत्व महसुस गर्न नसकेको परिस्थिति बनेको छ । उनले भने, ‘एमाले केपी ओलीको पार्टी जस्तो भयो, कांग्रेस देउवाकै पार्टी जस्तो भयो, अरु दलहरू पनि नेता नै–केन्द्रितझैं देखिन्छन् । तर ‘हाम्रो पार्टी’ को विशेषता यही हो—यो पार्टी सबैले ‘हाम्रो’ भनेर भन्न सकून् भन्ने उद्देश्यले जन्मिएको हो ।’ उनले देशमा पछिल्ला वर्षहरूमा पहिचान, क्षेत्र, समुदाय र जातीयताका आधारमा राजनीति बढ्दै गएको उल्लेख गर्दै यस्तो प्रवृत्तिले राष्ट्रिय एकता कमजोर बनाएको बताए ।

‘कसैले मधेश मात्रै भन्छन्, कसैले हिमाल मात्र भन्छन्, कोही दलित, कोही जनजाति भन्ने छुट्टाछुट्टै आवाज आउँछन् । साम्प्रदायिकता फैलिँदै जाँदा राष्ट्र कमजोर हुन्छ । त्यसैले साझा राष्ट्रिय पहिचान बनाउने अभ्यास हाम्रो पार्टीले गर्न चाहेको हो’, सुनारले भने । उनका अनुसार ‘हाम्रो पार्टी नेपाल’ लाई आधुनिक डेमोक्रेटिक पार्टीका रूपमा विकास गर्ने, समुदायबीच सहअस्तित्व र समानता प्रवर्द्धन गर्ने तथा विभाजनकारी राजनीतिको विकल्प प्रस्तुत गर्ने लक्ष्य रहेको छ । आगामी फागुन २१ मा हुने भनिएको निर्वाचनबारे पनि उनले आत्मविश्वास व्यक्त गर्दै पार्टी निर्वाचन प्रक्रियामा सक्रिय रूपमा जाने तयारीमा रहेको जानकारी दिए । सुनारले नयाँ राजनीतिक अभ्यासले देशमा सहिष्णुता, एकता र साझा राष्ट्रिय सोच मजबुत बनाउने दाबी पनि गरे ।

मन्त्री बन्न नपाएका खगेन्द्र पार्टी सभापति, पाए दल दर्ताको प्रमाणपत्र {तस्वीरहरु}

काठमाडौं । खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । सोमबार मध्याह्न निर्वाचन आयोगमा बाजागाजासहित पुगेर सुनारसहितले पार्टी दर्ता पत्र लिएका हुन् । उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए भने आज आधिकारिकता प्रमाण पत्र लिएका हुन् । कात्तिक १८ गते आयोगमा निवेदन दिएको उक्त पार्टीको दर्ता नम्बर २१६ रहेको छ ।

पार्टीको सभापतिमा सुनार आफै कायम भएका छन्, भने अन्य २० जनालाई केन्द्रीय सदस्य तोकिएको छ । स्मरण रहोस्, एक महिनाअघि सुनार मन्त्रीको लागि सिफारिसमा परेका थिए । तर, विभिन्न जिल्लामा उनीविरुद्धको उजुरी तथा मुद्धा विचाराधीन अवस्थामा रहेको विषय सार्वजनिक भएपछि सुनारको नाम हटाइएको थियो ।

तस्वीरहरु : नेपाल फोटो लाइब्रेरी

नयाँ पार्टी खोल्ने खगेन्द्र सुनारको घोषणा

काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनारले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । दलितको झण्डा र एजेण्डा सिंहदरबार पुर्‍याउन नयाँ दल खोल्ने तयारी भइरहेको उनले आज एक कार्यक्रममार्फत जानकारी गराएका हुन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सुनारले जेनजी प्रतिनिधिलाई समेत समावेश गरेर नयाँ पार्टी खोल्ने घोषणा गरेका हुन् । ‘नेपालको दलित आन्दोलनमा नयाँ खालको तयारी भइरहेको छ । नयाँ पार्टी निर्माण गरेर जाने तयारी भएको छ,’ सुनारले सुनाए ।

विभिन्न अफवाह फैल्याएर आफूलाई मन्त्री बन्न रोके पनि सुनारले आफू अहिले मन्त्रीको दौडमा नरहेको बताए । ‘मन्त्री बन्ने दौडमा छैन, तर सरकारको पक्षमा र सुशीला आमाको पक्षमा छु,’ सुनारले भने, ‘अब हाम्रो तयारी फागुन २१ गतेको चुनावका लागि हुन्छ । सबै अट्ने लोकतान्त्रिक दल बनाउँछौं ।’ सुशीला कार्की सरकारमा मन्त्री बन्ने तयारीबीच विभिन्न विवादमा परेकाले अन्तिम समयमा उनको नियुक्ति रोकिएको थियो ।

खगेन्द्र सुनारलाई धरौटीमा छोड्न काभ्रे अदालतको आदेश

काभ्रेपलाञ्चोक । दलित अभियन्ता खगेन्द्र सुनुवारलाई धरौटीमा छाड्न जिल्ला अदालत काभ्रेपलाञ्चोकले आदेश दिएको छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड़ने आदेश दिएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन् ।

अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान र थुनछेकको बहस भएको थियो । सुनारको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताहरू महेन्द्र तामाङ, चक्रमान विश्वकर्मा, बाल्मिकी आउजी, नारायण बुढ़ापृथी, गणेश बराइली, रामबहादुर मिजारले बहस गरेका थिए ।

सरकारवादी मुद्दा भएकाले अधिवक्ता मनिषा गौतमको तर्फवाट सरकारी वकील कार्यालयका सहायक न्याधिवक्ता निष्ठा कर्माचार्यले बहस गरेको अदालतले जनाएको छ । सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन् । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकोले ब्यूरोले उक्त मुद्धालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो । उनको मुद्दा जिल्ला अदालतमा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो ।

त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो । अदालतका श्रेस्तेदार कार्कीका अनुसार गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो । पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार हुँदा सुनारको नामसमेत सिफारिस भएको थियो । उनीमाथि यही मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो ।

खगेन्द्र सुनार बयानका लागि पुगे काभ्रे अदालत

काभ्रेपलाञ्चोक । श्रममन्त्रीमा सिफारिस भएर शपथ हुनै लाग्दा नाम हटाइएका दलित अभियन्ता खगेन्द्र सुनार काभ्रे अदालतमा बयानका लागि हाजिर भएका छन् । अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी सुनारलाई काभ्रे अदालतले गत साउन ५ गते नै दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी काटेको थियो । गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युत अपराध कसुरमा काभ्रेमा मुद्दा दायर गरेकी थिइन् ।

कानुन व्यवस्थायीसहित उपस्थित भएका उनको अहिले बयान जारी छ । बयान सकिएपश्चात आजै थुनछेक बहस हुनसक्ने सम्भावना छ । सुनारमाथि सुर्खेतमा पनि स्वास्थ्य संस्था तोडफोड र स्वाथ्यकर्मीमाथि कुटपिटको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । केही दिनअघि श्रममन्त्रीको नियुक्तिको तयारी हुँदै गर्दा उनका विभिन्न मुद्दा बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले शपथ रोकेकी थिइन् ।

मन्त्री बन्न लागेका सुनार कांग्रेसका सदस्य, कसले गर्‍यो सिफारिस ?

काठमाडौं । मन्त्री बन्ने सूचीमा नाम आएसँगै विवादमा तानिएका दलित अभियन्ता खगेन्द्र सुनार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको खुलेको छ । उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनको महाधिवेशन प्रतिनिधि हुन् । उनी दैलेख जिल्ला प्रतिनिधिसभा क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिका लागि विजयी भएका थिए । उनी पत्रकारिता पृष्ठभूमिबाट दलित अभियन्ता बनेका हुन् । नेपाल प्रेस युनियसनको साधारण सदस्य, नेपाल पत्रकार महासंघको साधारण सदस्य समेत रहेका सुनारले काठमाडौंका विभिन्न रेडियोमा काम पनि गरेका थिए ।

पूर्व प्रधानन्यायाधीश श्रेष्ठले गरेका थिए सुनारलाई मन्त्रीमा सिफारिस
अभियन्ता सुनारलाई मन्त्री बनाउन पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सिफारिस गरेको खुलेको छ । स्रोतका अनुसार आइतबार साढे २ बजे राष्ट्रपति कार्यालयमा शपथको तयारी गरेका चार मन्त्रीमध्येका एक सुनार विभिन्न मुद्दामा फरार अभियुक्त हुन् । फौजदारी कसुरमा आरोपित रहेका सुनारलाई सिफारिस गर्ने व्यक्ति अरु नभएर न्यायालयका प्रमुख श्रेष्ठ हुन् । विश्वस्त स्रोतका अनुसार अन्तरिम सरकार निर्माणदेखि कसकसलाई मन्त्री बनाउने भन्नेसम्मको लबिङमा श्रेष्ठ सक्रिय छन् ।

उनैले सुनारलाई मन्त्री बनाउन जोडबल लगाएको खुलेको छ । कल्याण श्रेष्ठले भने आफू मन्त्री सिफारिस गर्ने पोजिशनमा नभएको बताएका छन् । उनले भने ‘मैले चिन्दै नचिनेको मान्छेलाई कसरी मन्त्री बनाउन भन्छु ? त्यसो त मैले बोक्नुपर्ने मान्छे नै होइन । मे के आधारले सिफारिस गर्छु ?’

 

 

मन्त्री नबन्दै विवादमा खगेन्द्र सुनार, छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि छनोट गरेको नाममा अझै छलफल गरिरहेकी छन् । कार्की नेतृत्वको सरकारको मन्त्री बन्नका लागि सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएसँगै उनले छलफल तीव्र बनाएकी हुन् । अहिले सुनारको विषयमा प्रधानमन्त्री र केही मन्त्रीले छलफल गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । सुनारविरुद्ध विभिन्न अभियोगको मुद्दा दर्ता भएको र प्रहरीको फरार सूचीमा पनि रहेको पाइएपछि अहिले उनको आलोचना भइरहेको छ ।

उनीविरुद्ध अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ । कार्कीले सुनारलाई श्रम रोजगारमन्त्रीमा सिफारिस गरेकी थिइन् । त्यस्तै डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपति लाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री बनाउन सिफारिस गरेकी थिइन् ।

मन्त्री बन्न लागेका खगेन्द्र सुनार दुई मुद्दाका ‘फरार’, उठ्यो न्यायिक र नैतिक प्रश्न

काठमाडौं । जिल्ला अदालत सुर्खेतबाट दुई फरक मुद्दामा फरार अभियुक्त घोषित खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने तयारीमा छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्दै गर्दा, सुनारको नाम मन्त्रीको सूचीमा परेको खबर सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ ।

अदालतका अनुसार, सुनारविरुद्ध मेहेलकुना अस्पताल तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । अदालतको मु.र.नं. ७८–०८०–०२१४१ र मु.नं. ०८०–ऋ १–०५२२ अनुसार, मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको उजुरीमा २०८१ असार १४ गते मुद्दा दायर भएको थियो । त्यसका आधारमा अदालतले असार २१ गते ७ दिनभित्र पक्राउ गर्न आदेश जारी गर्दै दैलेख प्रहरी कार्यालयलाई सुनारलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो ।

अदालतका कागजातअनुसार, दैलेख जिल्ला नारायण नगरपालिका–२ भैसेखोरका ३१ वर्षीय खगेन्द्र सुनार, डिलबहादुर सुनारका नाति र कमान सिंह सुनारका छोरा हुन् । उनी अहिलेसम्म पक्राउ परेका छैनन् र अदालतले उनलाई फरार अभियुक्तका रूपमा सूचीकृत गरेको छ । तर सोही अभियुक्त अहिले मन्त्री बन्ने तयारीमा छन् भन्ने समाचार सार्वजनिक भएपछि कानुनी र राजनीतिक दुवै वृत्तमा आलोचना चर्किएको छ । एकातिर अदालतको आदेश बेवास्ता गर्ने व्यक्ति मन्त्री बन्ने तयारीमा हुनु कानुनी शासनको अपमान भएको भन्दै टिप्पणी भइरहेको छ ।

साइबर अपराध अनुसन्धान अन्तर्गत पनि परेका छन् सुनार
खगेन्द्र सुनारमाथि अर्को मुद्दा पनि छ—साइबर ब्युरोमा । केही महिनाअघि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालविरुद्ध गम्भीर र तथ्यहीन आरोप लगाएका थिए । उनले बैतडीको डिलासैनी गाउँपालिका–३ का १३ वर्षीय किरण काजी कोलीलाई मन्त्री पालको गाडीले किचेर हत्या गरेको दाबी गरेका थिए ।

तर प्रहरी अनुसन्धानले उक्त दाबीलाई पूर्ण रूपमा असत्य ठहर गरेको थियो । अनुसन्धानअनुसार, ती किशोरको मृत्यु गत साउन १७ गते बालुवा संकलनका क्रममा विद्युत पोल छुँदा करेन्ट लागेर भएको थियो । मृतक परिवारले पनि भोलिपल्टै शव बुझिसकेका थिए । त्यसपछि मन्त्री पालका छोरा मुकेश पालले खगेन्द्र सुनारविरुद्ध तथ्यहीन आरोप र चरित्रहत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गरेका थिए । उक्त उजुरी हाल साइबर ब्युरोमा छ र अनुसन्धान जारी छ । सुनारविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दा समेत रहेको पाइएको छ । अधिवक्ता मनिषा गौतमले हालेको मुद्दामा गत असोज ६ गते पेसी तोकिएको भए पनि सर्वोच्च अदालत जलेपछि स्थगन भएको थियो ।

नवराज विकको मुद्दामा उच्च अदालत सुर्खेतले सुनाएको फैसला चित्त नबुझेपछि सुनारले अदालतबाहिर वितण्डा मच्चाएका थिए । उनले अदालत परिसरमा हुलहुज्जत र गेटमा तोडफोड गर्नुका साथै न्यायाधीशहरूविरुद्ध धम्कीपूर्ण अभिव्यक्तिहरू दिएपश्चात गौतमले मानहानीको मुद्दा हालेकी हुन् । गत वैशाख २१ मा सो मुद्दा दर्ता भएको रेकर्ड गौतमले राखेकी छन् ।

सर्वोच्चले प्रतिवादी सुनारलाई झिकाउने आदेश दिएको थियो । सोपश्चात सुनारले सर्वोच्चकी न्यायधीस सपना मल्ल प्रधानलाई पनि उनले गालीगलोज गरेर लेखे । सोपश्चात अदालतले टिप्पणी उठाएर मुद्दा दर्ता गरेको थियो । गौतम सर्वोच्च गएपश्चात सुनारले उनलाई गालीगलौज गर्दै फेसबुकमा स्टाटस लेखे । उनले गौतमको तस्विर र फोन नम्बर समेत हालेर उनीविरुद्ध चारित्रिक लान्छना लगाएका थिए ।

पूर्व हिरासत र ठगी मुद्दा पनि
खगेन्द्र सुनार वैदेशिक रोजगारीमा ठगीसम्बन्धी उजुरीमा पहिले पनि प्रहरी हिरासतमा परेका थिए भन्ने विवरण सार्वजनिक भएको छ । उनीमाथि विदेश पठाउने नाममा रकम असुली गरेको आरोपमा केही समय प्रहरी नियन्त्रणमा राखिएको थियो ।

न्यायालय र सरकारबीचको असमञ्जस
फरार अभियुक्तका रूपमा अदालतले खोजी गर्न निर्देशन दिएको व्यक्तिलाई मन्त्री बनाउन लाग्नु सरकारको नैतिक प्रतिबद्धता र सुशासनको मापदण्डमाथि गम्भीर प्रश्न खडा भएको टिप्पणी विश्लेषकहरूले गरेका छन् । कानुनविद्हरूले अदालतको आदेश बेवास्ता गर्दै मन्त्री बन्नु न्यायालयको मर्यादामाथि ठाडो चुनौती भएको बताएका छन् ।

राजनीतिक विश्लेषकहरूको भनाइमा, ‘अदालतबाट फरार अभियुक्तलाई मन्त्री बनाउन खोज्नु भनेको कानुनी शासनलाई ठट्टा बनाउने हो । यस्तो निर्णयले सरकारको विश्वसनीयता मात्र होइन, सम्पूर्ण प्रणालीमाथि जनताको भरोसा कमजोर पार्छ ।’ सम्बन्धित पक्षहरूबाट भने आधिकारिक प्रतिक्रिया आउन बाँकी छ ।