नयाँ पार्टी खोल्ने खगेन्द्र सुनारको घोषणा
काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनारले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । दलितको झण्डा र एजेण्डा सिंहदरबार पुर्याउन नयाँ दल खोल्ने तयारी भइरहेको उनले आज एक कार्यक्रममार्फत जानकारी गराएका हुन् । आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सुनारले जेनजी प्रतिनिधिलाई समेत समावेश गरेर नयाँ पार्टी खोल्ने घोषणा गरेका हुन् । ‘नेपालको दलित आन्दोलनमा नयाँ खालको तयारी भइरहेको छ । नयाँ पार्टी निर्माण गरेर जाने तयारी भएको छ,’ सुनारले सुनाए ।
विभिन्न अफवाह फैल्याएर आफूलाई मन्त्री बन्न रोके पनि सुनारले आफू अहिले मन्त्रीको दौडमा नरहेको बताए । ‘मन्त्री बन्ने दौडमा छैन, तर सरकारको पक्षमा र सुशीला आमाको पक्षमा छु,’ सुनारले भने, ‘अब हाम्रो तयारी फागुन २१ गतेको चुनावका लागि हुन्छ । सबै अट्ने लोकतान्त्रिक दल बनाउँछौं ।’ सुशीला कार्की सरकारमा मन्त्री बन्ने तयारीबीच विभिन्न विवादमा परेकाले अन्तिम समयमा उनको नियुक्ति रोकिएको थियो ।
